इन्टरपोलका अध्यक्ष बालुवाटार छिरे, प्रचण्डसँग के भयो कुरा ?
इन्टरपोलको मूख्यालय भ्रमणको निम्तो
प्रकाशित २०७३ माघ ६ बिहिबार
1.1k
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र इन्टरपोलका अध्यक्ष मेङ्ग होङ्ग्वीबीच भेट भएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र होङ्ग्वीबीच भेट भएको हो । भेटमा प्रधानमन्त्री दाहालले इन्टरपोलले नेपालको प्रहरी संगठनको सुदृढीकरणमा महत्वपूर्ण सहयोग गरेको सम्झिए ।
प्रधानमन्त्री दाहालले भने, ‘इन्टरपोलले नेपालको प्रहरी संगठनको सुदृढीकरणमा महत्वपूर्ण सहयोग गरेको छ, यसका लागि म यहाँलाई धन्यवाद दिन चाहन्छु । नेपाल र चीन पुराना असल छिमेकी हौं । हाम्रो सम्बन्धलाई थप मजबुत बनाएर हामी नेपाल र चीनबीच सडक, रेल र हवाई कनेक्टिभिटी बढाउन चाहन्छौं ।’
भेटमा प्रधानमन्त्रीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै भने, ‘नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ । हामी चीन र तिब्बतविरुद्ध नेपाली भूमि प्रयोग हुन दिने छैनौं । हिजो, आज र भोलि पनि नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहने कुरा विश्वास दिलाउन चाहन्छु ।’
प्रधानमन्त्री दाहालले नेपाल चीनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको जानकारी गराउँदै भारतको गोवा भ्रमणका क्रममा त्रीदेशीय रणनीतिक साझेदारी र व्यापारिक सम्बन्धबारे आफू, सिजिनपिङ र नरेन्द्र मोदीबीच निकै सकारात्मक छलफल भएको सुनाए ।
भेटका क्रममा इन्टरपोलका अध्यक्ष होङ्ग्वीले नेपाल प्रहरी सुदृढ र व्यावसायिक प्रहरी संगठन रहेको बताउँदै नेपाल प्रहरीलाई थप सवल बनाउन इन्टरपोलको तर्फबाट सदैव सहयोग रहने विश्वास दिलाए । होङ्ग्वीले नेपालको एक चीन नीतिप्रति कृतज्ञता राख्दै इन्टरपोलको मूख्यालय फ्रान्सको भ्रमण गर्न प्रधानमन्त्रीलाई निमन्त्रणा दिए । होङ्ग्वीले आफू इन्टरपोलको अध्यक्षमा निर्वाचित हुँदा नेपालले महत्वपूर्ण सहयोग गरेको सम्झिए ।