बीपीनगरको भेलाः भित्र केन्द्रीय समिति बैठक, बाहिर भ्रातृ संघहरूको विरोध
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
3.7k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको पार्टी मुख्यालय बीपीनगर सानेपामा सोमबारदेखि केन्द्रीय कार्यसमिति बैठक चलिरहेको छ । यो बैठकले संगठन बलियो पार्ने, पार्टीका क्रियाशील सदस्य संगठित गर्ने, पार्टीको आगामी कार्यदिशा तय गर्ने, भ्रातृ संघहरूको तदर्थवादको समाधान गर्ने लगायतका १३ एजेन्डामा निष्कर्ष निकाल्नेछ ।
रोगकै रूपमा रहेको भ्रातृ संघ संगठनहरुको महाधिवेशन नगराएर नेतृत्वले नालायकी प्रस्तुत गरेको छ । पार्टीले गत चैत मसान्तभित्र महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न निर्देशन दिएको भए पनि मुख्य शक्ति भ्रातृ र भगिनी संघले भने पूरै बेवास्ता गरे ।
विद्यार्थीहरुको संघ नेपाल विद्यार्थी संघ, तरुण युवाहरुको संघ नेपाल तरुण दल र महिलाहरुको सिंगो संघ नेपाल महिला संघ अझै तदर्थवादमै चलिरहेका छन् ।
त्यतिमात्र होइन यसभित्र चलखेलसमेत नेतृत्वले उत्तिकै गरिरहेको छ । म्यान्डेटभन्दा बाहिर गएर अवैध भइसकेको तदर्थ समितिले गतिविधिहरु गरेको भन्दै आपत्ति जनाउने पनि उत्तिकै छन् ।
सोमबार पनि यी तिनै संघका महाधिवेशन पक्षधरहरुले बाहिर नाराजुलुससँगै पार्टी नेताहरुको ध्यानाकर्षण गराएका थिए ।
पार्टीको संस्थापन पक्षले नेतृत्वलाई विधि र विधान मिचेर छुट दिएको आरोप छ । जसका कारण समयमै महाधिवेशन नगरेर पनि उनीहरु पदमा आसीन हुन पाएका छन् ।
त्यसको विरोध भइरहेको छ । तर अझै पनि तदर्थवादमा उनीहरु केही समय लम्ब्याउन खोजिरहेको देखिन्छ ।
महिला संघका गगन शेखर पक्षधर महिला संघका नेतृहरु पार्टी कार्यालय अगाडि बसेर धर्ना जुलुस गरेर प्रदर्शन गरे l महिला संघ केन्द्रीय अध्यक्षले संगठनलाई विधिवत् ढंगले अगाडि नबढाएको, एकलौटी रुपले कब्जा गर्न खोजेको, अर्को पक्षलाई बेवास्ता गरेको र सो कार्यको पटक पटक नेतृत्वलाई जानकारी गराउँदा पनि नेतृत्वको ध्यानाकर्षण नभएपछि बाध्य भएर केन्द्रीय कार्यालय अगाडि विरोधको कार्यक्रम गर्नु परेको उनीहरुले बताएका छन् ।
यो विरोधको श्रृंखला मंगलबार पनि जारी रह्यो । मंगलबार महिला संघले विरोध जनाएको नेतृ रंजिता गिरीले जानकारी दिइन् ।
उनीहरुले मंगलबार टाउकोमा कालोपट्टी बाँधेर विरोध गरेका थिए । गिरीले बुधबार पनि विरोध कार्यक्रमलाई यथावत् राख्ने बताइन् ।