ढोरपाटन (बागलुङ)। पाँच वर्षअघिसम्म गुमनामजस्तै रहेको ढोरपाटनको बुकीपाटनमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य बढेको छ। पहिले साँघुरो र अप्ठ्यारो गोरेटोका कारण पुग्न कठिन भए पनि, गत वर्षदेखि पर्यटकको भीड लाग्न थालेको हो।
पर्यटकको रोजाइमा बुकीपाटन पर्न थालेपछि यस वर्ष विभिन्न स्थानमा विश्रामस्थल, पदमार्ग र काठेपुल निर्माण गरिएको छ। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २० लाखको बजेटमा ढोरपाटन उपत्यकादेखि बुकीपाटनको गर्पाछेडा जोड्ने ५ किलोमिटर लामो पदमार्ग लगायतका पूर्वाधार निर्माण गरिएको हो। यसले पर्यटक र गोठाले दुवैलाई सहज भएको छ।
उद्योग तथा पर्यटन कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिएअनुसार, ढोरपाटन नगरपालिका–९ पाखाथरदेखि गर्पाछेडासम्मको पदमार्ग उपभोक्ता समितिमार्फत निर्माण भएको हो। गत चैतदेखि सुरु भएको काम असार पहिलो सातामै सम्पन्न भएको छ। "पहिले साह्रै अप्ठ्यारो हुँदा यात्रा गर्न समस्या रहेछ, अब सहज भएको छ," प्रमुख थापाले भने।
पदमार्गको केही भाग पक्की र केही कच्ची रहेको छ भने, ठाउँठाउँमा विश्रामस्थल र काठका पुल बनेका छन्। यसले पर्यटकको यात्रालाई थप रमणीय र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
ढोरपाटनका होटल व्यवसायी जीवन अदैले बुकीपाटन हिउँदमा खाली हुने र वर्षामा गोठालाहरू वस्तुभाउ लिएर जाने गरेको बताए। पछिल्लो समय ढोरपाटन आउने अधिकांश पर्यटक बुकीपाटन पुग्ने गरेको उनको भनाइ छ। बुकीपाटनमा पर्यटक जान थालेपछि गर्पाछेडामा गोठस्टे सञ्चालन गर्न थालिएको पनि अदैले जानकारी दिए।
"बुकीपाटनमा पहिले गोठाला र हजारौंको संख्यामा भेडाबाख्रा र गाईभैँसी हुन्थे, अहिले धेरैभन्दा धेरै पर्यटक जान थालेका छन्," अदैले भने। उनका अनुसार, तीन स्थानमा काठेपुल र तीन स्थानमा विश्रामस्थल पनि निर्माण गरिएको छ।
समुद्र सतहदेखि करिब ४,५०० मिटरको उचाइमा रहेको बुकीपाटनसँगै टीकाधार, फागुने, गर्पाछेडा लगायतका स्थानमा पनि पर्यटकको चहलपहल बढेको ढोरपाटनका तिलबहादुर पुनले बताए। गत जेठ पहिलो सातादेखि नै पर्यटकहरू बुकीपाटन पुग्न थालेका छन्।