एमाले सांसदले रामहरिलाई भने- अब सभापतिको कुर्सीमा बस्न सुहाउँदैन [भिडियो]
सांसद राईद्वारा समिति सभापति खतिवडाको राजीनामा माग
हाम्रा कुरा
प्रकाशित २०८२ असार १८ बुधबार
701
Shares
काठमाडौँ। नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले 'कुलिङ पिरियड' सम्बन्धी विधेयकमा भएको चलखेललाई लिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराको राजीनामा माग गरेका छन्। बुधवार समितिको बैठकमा बोल्दै उनले अबका दिनदेखि उनीहरूको नेतृत्वमा समितिको बैठक बस्न नसक्ने बताए।
सांसद राईले समितिले निर्णय गरेर पठाएको कुरालाई जालझेल गर्ने अधिकार समिति सभापति र सचिवलाई नरहेको स्पष्ट पारे। उनले जनताबाट चुनिएका प्रतिनिधिहरूको अपमान गर्ने अधिकार कसैलाई नभएकोमा जोड दिए।
"यो बैठकमा हाम्रो सभापतिज्यूले त्यो चियरमा बस्न सुहाउँछ कि सुहाउँदैन?" सांसद राईले प्रश्न गरे, "किनभने यो समिति सार्वभौम थियो। यो समितिले यत्रो निर्णय गरेको कुरालाई जालझेल गरेर, सदस्यहरूलाई अपमान गरियो। लोक के भन्छ आज? गम्भीर प्रश्न उठेको छ।"
राईले सभापति खतिवडालाई लक्ष्य गर्दै भने, "यो प्रश्न उठेको बेलामा हामीले गरेको निर्णय तलमाथि गर्ने अधिकार कसले दियो तपाईंलाई? म सभापतिज्यूलाई भन्न चाहन्छु, तपाईंले छोडिदिनुपर्छ। तपाईंले सक्नुभएन। यत्रो सदस्यले गरेको निर्णय तपाईंले तलमाथि गर्ने, जालझेल गर्ने, जनताबाट चुनिएको यत्रो प्रतिनिधिहरूको अपमान गर्ने अधिकार तपाईंलाई हुँदैन।"
सांसद राईले सहज किसिमले समितिको बैठक अघि बढाउने वातावरण सभापतिले बनाइदिनुपर्ने बताए।