कुख्यात मिटरब्याजी मोहम्मद रइस पक्राउ, छोरा प्रिन्स फरार
नारायण वली,
प्रकाशित २०८२ असार २१ शनिबार
2.3k
Shares
लुम्बिनी । कपिलवस्तुको कृष्णनगरमा कुख्यात मिटरब्याजको धन्दा चलाइरहेका मोहम्मद रइस शेष पक्राउ परेका छन् । स्थानीय व्यक्तिहरुलाई मिटरब्याजको फन्दामा पारेर अदालतमा मुद्धासमेत हालेर सास्ती दिँदै आएका शेषलाई इलाका प्रहरी कार्यालय कृष्णनगरले पक्राउ गरेको हो । उनका छोरा प्रिन्स भने फरार भएका छन् ।
थोरै पैसा दिने र कतिपयलाई पैसा नदिएर खाली चेक लगी आफैँ रकम भरेर मुद्धा हाल्ने गरेका कारण आफूहरु अन्यायमा परेको पीडितहरूको गुनासो थियो ।
ऋणीबाट खाली चेक माग्ने र पछि आफैँ रकम भरेर प्रहरी र अदालतमा मुद्धा हाल्ने गरेका रइसले लामो समयदेखि धन्दा चलाउँदै आएको पाइएको छ ।
हाल इलाका प्रहरी कार्यालय कृष्णनगरमा अभद्र व्यवहार सम्बन्धी मुद्धा चलाएर थप अनुसन्धान अघि बढाइएका मिटरब्याजी रइसमाथि पीडितहरुले आपराधिक लाभ, ठगी, किर्ते, विश्वासघात र सम्पत्ति शुद्धीकरण लगायत मुद्धाहरु दर्ता गर्ने तयारी गरेको बताइएको छ । नेपालको प्रचलित कानूनअनुसार चर्को ब्याज असुल्न पाइँदैन । यो दण्डनीय अपराध मानिन्छ ।
राजनीतिक शक्ति, प्रहरीसँगको पहुँच र न्यायलयको प्रभाव देखाएर मिटर ब्याजको धन्दा चलाउँदै आएका रइस अहिले कानूनी कटघरामा पुगेका छन् ।
कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगरका मोहम्मद रइस शेषले ५० जनाभन्दा बढी व्यक्तिहरूलाई पीडित बनाएको पीडितहरूको भनाइ छ ।
अनुसन्धान स्रोतका अनुसार रइसमाथि अभद्र व्यवहारमा मुद्धा चलाइएको बताउँदै पीडित भनेर आउनेहरूमाथि यसअघि नै जिल्ला अदालत तौलिहवा र उच्च अदालतमा मुद्धा चलिरहेकाले मिटरब्याज सम्बन्धी मुद्धा प्रहरीले लिन नमिल्ने भएको यो विषय जिल्ला प्रशासन कार्यालयमा जाने बताए ।
उनले भने, 'मिटर ब्याजको विषय सीडीओ साबले हेर्नेगरी अधिकार दिइएको छ । पीडितहरुले प्रहरीमा भन्दा सीडीओ कार्यालयमा उजुरी गर्दा उचित होला ।'
पीडित गुलाम मोहम्मदले आफूले आपराधिक विश्वासघात कसूरमा मुद्धा दायर गर्ने भन्दै दोषीउपर कानूनअनुसार कारबाहीको माग गरेका छन् ।
पीडितहरू सन्तोषकुमार कोरी, मोहम्मद सलिम, अब्दुल रहमान दर्जी विचरी कोरी, प्रभुनाथ कोरी चन्द्रा पासी लगायतले पक्राउ परेका मिटरब्याजी रइसमाथि दायर हुने मुद्धाहरुमा सूक्ष्मरुपले अनुसन्धान गरी पीडितहरूलाई न्याय दिनुपर्ने बताउँदै थप ८ जनाले मुद्धा दर्ताका लागि तयारी गरेको बताएका छन् ।
पीडितहरू भन्छन्, 'पैसा चाहियो भनेपछि झट्टै विश्वास जित्ने, आधारको लागि चेक देउ, केही हुँदैन भनेर सादा चेक लिने, पैसा तिरेपछि पनि चेक फिर्ता नदिने, आफैँ रकम भरेर चेक अनादर मुद्धा अदालतमा हाल्नेलगायत कार्य गर्दै आएको थियो । हामी धेरैजना यस्तो समस्याबाट पीडित भएका छौँ ।'
यस्तो छ रइसले मुद्धा हालेका व्यक्ति र रकम
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा २ अकबाल हुसेन हलवाईमाथि १५ लाख, कृष्णनगर नगरपालिका वडा नं ३ का अब्दुल रहमानमाथि ९ लाख ५० पचास हजार, कृष्णनगर नगरपालिका वडा नं २ कृष्णगनरका अलताब हुसेन हलवाईमाथि २० लाख, कृष्णनगर नगरपालिका वडा नं १० बकौलीका सन्तोषकुमार कोरीमाथि २८ लाख, विजयगर गाउँपालिका वडा न ७ गणेशपुरका विचारी कोरीमाथि ३५ लाखको चेक बाउन्स मुद्धा, विजयनगर गाउँपालिका वडा नं ७ ढोढरीका मोहम्मद सलिम पठानमाथि ६ लाख ९० हजार, सोही गाउँपालिका वडा नं ३ का रामचन्द्र कुर्मीमाथि ४२ लाख, रामकुमार चौहानमाथि ३५ लाख, जीतेन्द्र कोरीमाथि ३२ लाख, प्रभुनाथ कोरीमाथि २ लाख ५० हजार रुपैयाँ ऋण दिएर यसको ४८ लाख लिएर पछि २० लाखको तमसुक गराएको, अशोककुमार तेलीमाथि ५ लाख रुपैयाँ ऋणमा रइस आफू साक्षी बसी जालसाजी गरेर ऋणको सबै पैसा लिएको, राजमती पासीमाथि ९ लाखको चेक बाउन्स, तुफैल अहमद खाँमाथि २५ लाखको तमसुक, गुलाम मोहम्मदमाथि ३२ लाख, जैस मोहम्मदमाथि ३ लाखको चेक बाउन्स र २ लाखको तमसुक गराएको, चन्द्रा पासीमाथि ३ लाखको चेक लिएर पैसा भोलि दिन्छु पर्सी दिन्छु भनेर आजसम्म न चेक फिर्ता गरेको, न ऋण बापत पैसा दिएको, खाली चेक माग्दा रइसले उल्टै ९ लाख रुपैयाँ मागेको नदिए मुद्दा हाल्ने धम्कीसमेत दिने गरेको पीडितको भनाई छ ।
यी व्यक्तिहरुमाथि अहिले जिल्ला अदालत तौलिहवा र उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्धा चलिरहेको छ ।