arrow

पार्टीको महाधिवेशनको मिति तोकेर तयारी समिति गठन गरौँ – केन्द्रीय सदस्य रायमाझी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २२ आइतबार
umeshjung-rayamajhi.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले पार्टीको आन्तरिक विषयदेखि संसद र न्याय सम्पादनसम्म समेटेर सल्लाह, सुझाव तथा प्रस्ताव पेस गरेका छन् । 

पार्टीको बीपीनगर सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै रायमाझीले ३२ बुँदामा सल्लाह र सुझाव समेटेर प्रस्तुत गरेका हुन् । उनले अहिले उठिरहेको संसदको भूमिका, न्याय सम्पादन, संवैधानिक निकाय, कर्मचारीतन्त्रका साथै पार्टीको आन्तरिक विषयलाई केलाएर सम्बोधन गरेका हुन् ।

रायमाझीले पार्टीलाई विधानअनुसार चलाउन महाधिवेशनको मिति तोक्नसमेत माग गरेका छन् । उनले पार्टीको महाधिवेशनको मिति तोकेर महाधिवेशन तयारी समिति गठन गर्न माग गरेका हुन् । 

यस्तो छ उनको सम्बोधनको मुख्य अंशः
श्री सभापतिज्यू,
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा निम्न सल्लाह, सुझाव तथा प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्दछु:

 नीति, संविधान तथा शासन प्रणाली सम्बन्धी सुझावहरू

१. यो संसदीय व्यवस्था हो। संसदको भूमिकामाथि नै प्रश्न उठिरहेको अवस्थामा संविधान तथा सम्बन्धित ऐन संशोधन आवश्यक देखिन्छ ।

२. नेपालको न्यायालय तथा न्याय सम्पादन पद्धतिप्रति अन्तर्राष्ट्रिय स्तरमा पनि विश्वासिलो छवि बनाउन आवश्यक छ।

३. अख्तियारजस्ता संवैधानिक संस्थाको कार्यक्षेत्र र कार्यसम्पादन प्रणालीबारे संसदमा गहिरो छलफल हुन आवश्यक छ।

४. कर्मचारी तन्त्रलाई सक्षम, पारदर्शी र उत्तरदायी बनाइनु पर्दछ ।

५. कर्मचारीतन्त्रमा "हायर एन्ड फायर" को संवैधानिक व्यवस्था गरिनुपर्दछ।

६. निर्वाचनको सम्पूर्ण खर्च राज्यले व्यहोर्ने र उम्मेदवारले खर्च नगर्न पर्ने व्यवस्था गरौं। यस्ले दुई नम्बरी पैसाको राजनीतिमा वाहुलेता घट्ने छ र जन विश्वास बढ्ने छ।

७. पार्टीको उम्मेदवार छनोट प्रक्रिया वैज्ञानिक र लोकतान्त्रिक बनाइनुपर्दछ। कम्तीमा प्रदेश तथा स्थानीय तहको उम्मेदवार स्थानिय समितिले नै छनोट गर्ने प्रावधान गरिनुपर्छ र नेपाली कांग्रेसको सदस्यता वितरणमा जोड दिउँ । यस संगठन केन्द्र मुखि नभएर जनमुखी हुने छ ।

८. २०४८ सालदेखि पटक–पटक मन्त्री वा सांसद रहेका व्यक्तिहरू चुनावमा पराजित हुनुको कारण अध्ययन गर्न समिति गठन गरिनुपर्छ।

९. पार्टीको विधान र मुलुकको संविधान संशोधनका लागि एक समिति गठन गरिनुपर्छ।

१०. पार्टीका तर्फबाट निर्वाचित सबै तहका प्रतिनिधिहरूको कार्य मूल्यांकनका लागि प्रत्येक तहमा निवर्तमान सभापतिको नेतृत्वमा एक समिति गठन गरिनुपर्छ।

११. भातृ संस्थाहरूको नेतृत्व केन्द्रमा केन्द्रिय सभापतिले र जिल्लामा जिल्ला सभापतिले तोक्ने व्यवस्था गरिनुपर्छ।

 आर्थिक, पूर्वाधार तथा विकाससम्बन्धी सुझावहरू

१२. उद्योगी–व्यापारीहरूमा लगानी प्रवर्द्धन गर्न ३९% सम्मको कर दर पुनर्विचार गरिनुपर्छ। लगानीमैत्री वातावरण निर्माण गरौं।

१३. वर्तमान बजेट विनियोजन प्रणाली न्यायोचित भएन भन्ने छ । त्यसको लागि छानबिन समिति गठन गरिनुपर्छ।

१४. बजेट विनियोजन प्रक्रिया वैज्ञानिक बनाइनुपर्छ। योजनाहरू व्यक्तिको प्रभावबाट होइन, आवश्यकताका आधारमा छनोट गरिनुपर्छ।

१५. वैदेशिक रोजगारीमा प्रशिक्षित जनशक्तिको मात्र प्रेषण सुनिश्चित गर्न प्रत्येक प्रदेशमा कम्तीमा रु. १ अर्ब बराबरको सीटीईभीटी तालिम केन्द्र स्थापना गरिनुपर्छ।

१६. "नदी बोटलमा" कार्यक्रम सञ्चालन गरौं। जसरी अरब देशहरूले पेट्रोलियम पदार्थ निर्यात गर्छन्, त्यसरी नै हाम्रो हिमनदीको शुद्ध जल संसारभरि बिक्री गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरौं।

१७. संघ, प्रदेश र स्थानीय सरकारहरूबीच, तथा मन्त्रालय र सरकारी कार्यालयहरूबीच प्रभावकारी समन्वय आवश्यक छ।

 कृषि, वन तथा प्राकृतिक स्रोतसम्बन्धी सुझावहरू

१८. नागरिकले आफ्नो नागरिकता प्रयोग गरेर सहज रूपमा ऋण पाउनसक्ने व्यवस्था सहित “किसान बैंक” को स्थापना गरौं।

१९. चुरे क्षेत्रको संरक्षण र उपयोग तथा तराई र चुरे क्षेत्रको बीचमा बाँध निर्माण गरियोस् । त्रिशुली नदिलाई हेटौंडा हुदै बारा,पर्सा सम्म,तमोर नदिलाई धरान   र कोसी नदिलाई विराटनगर सम्म पुराउन सके तराईको सुख्खा समाधान हुनेछ।

२०. खेतबारीको ढुंगा संकलन गरी कृषि योग्य जमिन विस्तार गरौं, जसबाट सहज कृषि उत्पादन गर्न सकिन्छ।

२१. कृषिजन्य उत्पादनका प्रयोजनका लागि प्रयोग हुने जमिनको खरिद–बिक्रीमा कर र हदबन्दी छुट दिइनुपर्छ।

२२. नेपालमा वन क्षेत्र ४२% भन्दा बढी छ, जुन भारत (२१%), चीन (२३%) र पाकिस्तान (५%) भन्दा धेरै हो। यति ठूलो वन क्षेत्र तथा वन्यजन्तु नेपालले एक्लैले व्यवस्थापन गर्न सक्दैन। त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ र यसको व्यावसायिक उपयोगको नीति अवलम्बन गरिनुपर्छ।

२३. गाँजा खेती, सुर्तीजन्य तथा मादक पदार्थ उत्पादन, वा रेड लाइट क्षेत्र खोल्ने विचारभन्दा पनि अस्पताल, विद्यालय, उद्योग, पर्यटन, विद्युत उत्पादन, जडीबुकटी प्रशोधन केन्द्र स्थापना तथा कृषिको आधुनिकीकरणमार्फत मुलुक समृद्ध बनाउन सकिन्छ।

२४. कृषिको आधुनिकीकरण र कृषिजन्य उद्योगमा लगानी बढाएर युवा जनशक्तिलाई विदेशिनबाट रोक्ने रणनीति बनाउनु जरुरी छ।

 शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद सम्बन्धी सुझावहरू

२५. शिक्षा, स्वास्थ्य, पर्यटन तथा रोजगारीसँग खेलकुद क्षेत्रलाई जोड्न जरुरी छ। खेलकुदमार्फत राष्ट्रिय पहिचान र प्रतिष्ठा अभिवृद्धि गर्न सकिन्छ।

२६. खेलकुद क्षेत्रमा बजेट दोब्बरले वृद्धि गरेकोमा धन्यवाद! यसका लागि पार्टी सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली, महामन्त्री गगन थापा, अर्थमन्त्री तथा खेलकुद मन्त्री लगायत खेलकुद विभागका सम्पूर्ण अधिकारी तथा खेलाडीहरूलाई बधाई तथा आभार व्यक्त गर्दछु ।

२७. बी.पी. कोइराला स्पोर्ट्स एकेडेमी गठन भइसकेको छ। प्रत्येक नगरपालिका तथा गाउँपालिकामा कम्तीमा वर्षमा एकपटक खेलकुद प्रतियोगिता आयोजना गरिनेछ । यसमा सबैको सहकार्य अपेक्षित छ।

२८. बी.पी. स्मृति अस्पताल, वीरगञ्जलाई शिक्षण अस्पतालको रूपमा विकास गरिँदैछ । यसमा पनि सबैको सहयोगको अपेक्षा गरिएको छ ।

 संघ–संस्था, सहमति तथा राष्ट्रिय पहिचान

२९. पार्टी, संसद र सरकारबीच स्पष्ट कार्यविभाजन तथा समन्वय हुनुपर्छ।

३०. नेपालीको मानव विकास सूचकांक १४५औं स्थानमा छ। यस अवस्थालाई सुधार गर्न दीर्घकालीन रणनीति आवश्यक छ।

३१. पार्टीभित्र असहमतिहरू विधिसम्मत र मित्रवत् ढंगले समाधान गरौं।

३२. स्वर्गद्वारी (प्युठान), पाथीभरा (ताप्लेजुङ), सिद्धकाली (भोजपुर), वराहक्षेत्र,जानकी मन्दिर लगायत प्रमुख धार्मिक तीर्थस्थलहरूको उचित व्यवस्थापन तथा पूर्वाधार विकास गरिएमा भारत लगायतका मुलुकबाट ठूला संख्यामा श्रद्धालु पर्यटकहरूको आगमन हुन सक्छ।

अन्त्यमा , पार्टीको महाधिवेशनको मिति तोकेर, महाधिवेशन तयारी समिति गठन गरौं ।

उमेश जंग रायमाझी
केन्द्रीय सदस्य, नेपाली कांग्रेस

जय नेपाल!
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ