ताप्लेजुङका छ स्थानीय तहमा फैलियो लम्पी स्किनको सङ्क्रमण
हाम्रा कुरा
प्रकाशित २०८२ असार २३ सोमबार
682
Shares
ताप्लेजुङ। ताप्लेजुङ जिल्लाका नौमध्ये छ वटा स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख डा. रोशन दाहालका अनुसार हालसम्म ३४ पशुबस्तुमा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमण सिदिङ्वा गाउँपालिका, मेरिङ्देन, सिरिजङ्गा, फक्ताङलुङ, फुङ्लिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिकाका पशुहरूमा देखिएको छ। सुरुमा फुङ्लिङ नगरपालिका–१० फुरुम्बु र वडा नं ७ तथा ८ दोखुमा यो रोगका लक्षण देखिएका थिए। जिल्लाको मिक्वाखोला, पाथीभरा याङवरक र मैवाखोला गाउँपालिकामा भने हालसम्म सङ्क्रमण नदेखिएको केन्द्रले जनाएको छ।
सङ्क्रमण पुष्टि भएपछि सम्बन्धित स्थानीय तह, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र अन्य निकायले रोग नियन्त्रणका लागि रोकथामका उपायहरू अपनाएका छन्। हालसम्म ४ हजार ७५० डोज लम्पी स्किनविरुद्धको खोप वितरण भइसकेको छ। सङ्क्रमण थप फैलिन नदिनका लागि पशुपालकहरूलाई सतर्क रहन र पशुमा लक्षण देखिएमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ।