त्रिशूली नदीको बाढीमा फसेका दुई जनाको हेलिकप्टरमार्फत सकुशल उद्धार
हाम्रा कुरा
प्रकाशित २०८२ असार २४ मंगलबार
633
Shares
काठमाडौँ। नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीका कारण त्रिशूली नदीमा उच्च बहाव बढेपछि फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी उनीहरूको उद्धार गरिएको हो।
प्राधिकरणका अनुसार, नुवाकोटको विदुर नगरपालिका–१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ त्रिशूली नदीको किनारमा दाउरा काट्न गएका बेला चीनमा भएको वर्षाका कारण एक्कासि नदीमा आएको बाढीले फसेका थिए।
अहिले दुवै जनाको हेलिकप्टरद्वारा सकुशल उद्धार भइसकेको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ।