रसुवाको बाढीमा बेपत्ता सुरक्षाकर्मीको शव चितवनमा, १९ अझै बेपत्ता
हाम्रा कुरा
प्रकाशित २०८२ असार २४ मंगलबार
873
Shares
भरतपुर । रसुवाको बाढीमा बेपत्ता भएका एक जना प्रहरीको शव चितवनमा भेटिएको छ । भरतपुर महानगरपालिका–२९ पन्ध्र किलोस्थित त्रिशूली नदी किनारमा शव भेटिएको हो ।
बाढीमा बेपत्ता तीन प्रहरीमध्ये रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ घर भएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव मंगलबार साँझ ६ः२० बजे त्रिशूली नदीमा तैरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।
उनको शवको एउटा खुट्टामा प्रहरीको बुट भेटिएको थियो । श्रेष्ठको पहिचान उनकी श्रीमतीले गरेको पुरीले बताए । प्रहरीचौकी हाकु रसुवामा दरबन्दी रहेका उनी इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए ।
यसैबीच रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा अहिलेसम्म १९ जना अझै बेपत्ता छन् । पहिले बेपत्ता २० भएकामा एक सुरक्षाकर्मीको शव भेटिएको हो ।
योसँगै बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बेपत्ता हुनेमा दुई सुरक्षाकर्मी (पहिले तीन प्रहरी रहेकामा एकको शव भेटिएपछि दुई), सुक्खा बन्दरगाहमा काम गर्ने छ, डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका छन् ।
बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ । बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन् ।
नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति बाढी आएसँगै यो ठूलो घटना भएको हो ।