सोवितालाई कांग्रेस सांसद शान्ति विकको जवाफः सरकारी स्कुलमै पढेको हो, नेपाली राम्रोसँग बुझ्छौँ [भिडियो]
ट्राभल्सको नाममा मानव तस्करी गर्ने अनि अरूलाई ’मानव तस्कर’ जस्तो शब्द प्रयोग गरेर जबरजस्ती साबित गर्न खोज्नु घृणित व्यवहार भएको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
890
Shares
काठमाडौं । नेपाली कांग्रेसकी सांसद शान्ति विकले सुमेरु ट्राभल्सले भिजिट भिसामा जापान पठाइदिन्छु भनेर गोरखाका एक व्यक्तिलाई ठगी गरेको बताएकी छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले २०१० मा २५ लाखमा घर बेचेर पैसा दिएको कुरा खुलासा भएको बताएकी हुन्।
सांसद विकले २०१० बाट २०२५ सम्म आइपुग्दा यस्ता पीडितहरू कति भए होलान् भन्दै प्रश्न गरिन्। उनले ट्राभल्सको नाममा मानव तस्करी गर्ने अनि अरूलाई ’मानव तस्कर’ जस्तो शब्द प्रयोग गरेर जबरजस्ती साबित गर्न खोज्नु घृणित व्यवहार भएको दाबी गरिन्। "बिना आधार, बिना उजुरी मानव तस्कर शब्द प्रयोग गरेर अरूको राजनीतिक, सामाजिक, व्यक्तिगत चरित्र समाप्त पार्ने कोसिस केवल यो सहकारी रिस साँधिएको हो," उनले भनिन्, "यस्तो आधारहीन आरोप लगाउनु नैतिक र कानुनी दृष्टिले पनि गलत हो।"
सांसद विकले देशको प्रधानमन्त्रीसँग देशको गरिमा जोडिएको हुने भन्दै स्पेन भ्रमणमा बहानामा टोली लिएर गएर मान्छे छोडेर आयो भन्ने तथ्यहीन आरोप प्रधानमन्त्रीमाथि नलगाउन पनि चेतावनी दिइन्। उनले ’रे र अरेको भरमा देशको प्रधानमन्त्रीमाथि आरोप लगाउनु यो गरिमामय सदनमा हल्का टिप्पणी गर्नु’ भएको बताइन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफूले प्रधानमन्त्रीसँग गएको टोली नफर्किएको नभनेको तर सांसदहरूले ’नेपाली पनि नबुझेको’ भन्ने टिप्पणी गरेपछि सांसद विकले कडा जवाफ फर्काइन्। उनले आफू सरकारी विद्यालयमै पढेर आएको र नेपाली राम्रोसँग पढ्न आउने बताएकी छिन्।
"हामी नेपालीका छोराछोरी हौँ। हामीलाई नेपाली पढ्न आउँछ," विकले भनिन्, "सामुदायिक स्कुलमै पढेका हौँ। सरकारी स्कुलमा पढेर आएको हो। नेपाली पनि बुझ्छौँ, नेपाली लाइन पनि बुझ्छौँ।" उनले संसदमा बोल्ने अरूको कुरा नसुन्ने नयाँ अभ्यास सुरु भएको हो भन्दै प्रश्न गरिन्।