तनहुँमा मनसुनजन्य विपद्को उच्च जोखिम: ६६ हजारभन्दा बढी प्रभावित हुने अनुमानसहित पूर्वतयारी योजना सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८२ असार २६ बिहिबार
615
Shares
तस्बिर फाइल
दमौली (तनहुँ)। यस वर्षको मनसुनका कारण तनहुँमा ६६ हजार ३५० जनाभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२ ले यो गम्भीर आँकलन सार्वजनिक गरेको छ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिएअनुसार, यस वर्ष देशभर १२ लाख ५० हजार नागरिक मनसुनबाट प्रभावित हुने अनुमान गरिएको छ। त्यसमध्ये, गण्डकी प्रदेशमा मात्रै ६५ हजार ६९९ परिवारका २ लाख ८७ हजार १०० जना प्रभावित हुने आँकलन गरिएको छ। अधिकारीले मनसुनजन्य जोखिमका हिसाबले गण्डकी प्रदेशमा तनहुँलाई पहिलो जोखिमयुक्त जिल्लाका रूपमा राखिएको बताए, जसले जिल्लाका लागि थप सावधानीको आवश्यकता औंल्याएको छ।
मनसुनजन्य विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न जिल्लाको प्रतिकार्य क्षमता बढाई प्रभावितहरूको आपत्कालीन आवश्यकतालाई समयमै प्रभावकारी र समन्वयात्मक ढङ्गबाट पूरा गर्न प्रतिकार्य योजना बनाइएको अधिकारीले उल्लेख गरे। यस योजनामा विगतका मनसुनजन्य विपद्का घटना र त्यसबाट भएका क्षति विश्लेषण गरी प्राथमिकता निर्धारण गरिएको छ।
विपद्मा खोज तथा उद्धारका लागि तत्काल परिचालित हुन र प्रतिकार्यमा हुने ढिलाइ तथा अन्योलता हटाउन जिम्मेवार तथा सहयोगी निकायको स्पष्ट जिम्मेवारी तोकी प्रभावकारी समन्वय तथा सञ्चार कायम गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।
जोखिमको प्राथमिकताका आधारमा जिल्लाका विभिन्न स्थानीय तहमा मुख्य जोखिमहरू यस प्रकार छन्: व्यास नगरपालिकामा पहिरो र बाढी, भानु नगरपालिकामा बाढी र पहिरो, भिमाद नगरपालिकामा पहिरो र बाढी, शुक्लागण्डकी नगरपालिकामा पहिरो र बाढी, देवघाट गाउँपालिकामा बाढी र पहिरो, बन्दीपुर गाउँपालिकामा पहिरो र आगलागी, घिरिङ गाउँपालिकामा पहिरो र बाढी, ऋषिङ गाउँपालिकामा पहिरो र बाढी, आँबुखैरेनी गाउँपालिकामा पहिरो र बाढी, र म्याग्दे गाउँपालिकामा पहिरो र बाढी प्रमुख छन्।
चालु आर्थिक वर्षमा मनसुनजन्य विपद्का घटनाहरूका आधारमा जिल्लामा जोखिमको प्राथमिकतामा पहिरो, बाढी, आगलागी, महामारी, चट्याङ, हावाहुरी र सुक्खा खडेरी रहेका अधिकारीले जानकारी दिए। मनसुनजन्य विपद्का घटनामा उद्धार तथा राहतका लागि खुला स्थान र आश्रयस्थल तयारी अवस्थामा राखिएको पनि उनले बताए।