सरकारमा रहेका दलहरूको काम जनताले नियालिरहेका छन्: कांग्रेस सहमहामन्त्री परियार [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार २८ शनिबार
717
Shares
काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारमा रहँदा विभिन्न राजनीतिक दलहरूले कस्तो काम गरे भन्ने कुरा जनताले सूक्ष्म रूपमा नियालिरहेको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
सहमहामन्त्री परियारले २०४६ सालअघि विभिन्न शक्ति राष्ट्रहरू र नेपालको अवस्था कस्तो थियो र अहिले उनीहरूको तथा नेपालको अवस्था कस्तो छ भन्ने कुरा नियाल्न जरुरी रहेको औँल्याए। उनले नेपालमा अधिकांश समय कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) सरकारमा रहेको जिकिर गर्दै सरकारमा रहेर उनीहरूले गरेका कामको मूल्याङ्कन जनताले गरिरहेको बताए।
"विभिन्न शक्ति राष्ट्रहरूमा राजनीतिक दलहरूको अवस्था कस्तो थियो, आज कुन अवस्थामा छन्। नेपालमा पनि हामीले ०४८ सालदेखि तुलना गर्ने हो भने आज राजनीतिक दलको अवस्था के छ? बहुदल ल्याएको पनि ०४६ सालदेखि हिसाब गर्ने हो भने धेरै लामो समय पार गरिसकेका छौँ। विशेष गरी सत्तामा कांग्रेस, एमाले र माओवादी छौँ। पछिल्लो अवस्था तुलना गर्ने हो भने त माओवादी पनि अरु दल सरह हुन लागिसक्यो," सहमहामन्त्री परियारले भने।
परियारले आफूहरू पटक-पटक सरकारमा पुगेको उल्लेख गर्दै सरकारमा पुग्दा कस्तो किसिमको ’डेलिभरी’ गर्न सकियो भन्ने कुरा अहिले आम जनता र ’जेन-जी’ पुस्ताले हेरिरहेको बताए। उनले नेपालको दक्ष जनशक्ति शक्ति राष्ट्रहरूमा काम गर्न जान बाध्य भएको भन्दै यसलाई रोक्न कुन राजनीतिक दलको सरकारले के काम गरेको छ भन्ने कुरा नागरिकस्तरबाट मूल्याङ्कन भइरहेको समेत उल्लेख गरे।