arrow

एयर इन्डियाको विमान दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
air-india-crash-25-6-12-pp.jpg

काठमाडौं। गत जुन १२ मा भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटना हुँदा २६० जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ। दुर्घटना हुनु केही क्षणअघि विमानका दुवै इन्जिनमा इन्धन आपूर्ति रोकिएको पुष्टि भएको छ।

भारतको विमान दुर्घटना अनुसन्धान विभाग (एएआईबी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार, विमानले उडानपछि अधिकतम गति लिएको केही सेकेन्डमै इन्जिन–१ र इन्जिन–२ का इन्धन नियन्त्रण स्विचहरू ‘सञ्चालन’ बाट ‘बन्द’ स्थितिमा क्रमशः एक सेकेन्डको अन्तरमा सारिएका थिए।

ककपिटमा रेकर्ड गरिएको कुराकानीमा एक पाइलटले अर्का पाइलटलाई सोधेका छन्, "तपाईंले इन्धन किन बन्द गर्नुभयो?" जवाफमा अर्का पाइलटले ‘मैले बन्द गरेको होइन’ भनेका छन्। त्यसपछि विमान केही बेरमै जमिनमा खसेको प्रतिवेदनमा उल्लेख छ। दुर्घटनापछि इन्धन आपूर्ति पुनः सुरु भएको र इन्जिन सञ्चालनमा आउने सङ्केत देखिए पनि पाइलटले ’आपतकालीन सन्देश’ पठाइसकेका थिए, त्यसपछि विमान पूर्ण रूपमा नियन्त्रणबाहिर गएको थियो।

प्रतिवेदनमा सन् २०१८ मा संयुक्त राज्य विमान नियामक निकायले इन्धन नियन्त्रण प्रणालीमा ’लक’ गर्ने प्रविधि असफल हुन सक्ने विषयमा जानकारी दिएको स्मरण गरिएको छ। तर, यो बाध्यकारी निर्देशन नभएकाले एयर इन्डियाले सो सुझावअनुसार निरीक्षण नगरेको जनाइएको छ।

प्रतिवेदनमा विमान निर्माता तथा इन्जिन निर्माता कम्पनीको तर्फबाट कुनै प्राविधिक कमजोरी नदेखिएको र विमान सञ्चालनसम्बन्धी सम्पूर्ण निर्देशनहरू पालना गरिएको उल्लेख छ।

दुर्घटनामा २३० जना यात्रु र १२ जना चालक दलका सदस्य गरी कूल २४२ जना विमानभित्र रहेका थिए। यसमा एक जना मात्र यात्रु जीवित रहेका छन्, जो बेलायतका नागरिक हुन्। उनी विमान दुर्घटनापछि केही दूरी हिँडेर सुरक्षित स्थानमा पुगेका थिए र अहिले स्वास्थ्य संस्थाबाट घर फर्किसकेका छन्। विमान दुर्घटनाका कारण जमिनमा रहेका १९ जनाको पनि ज्यान गएको छ भने केही घाइते भएका छन्।

दुर्घटनाको कारण अझै पूर्ण रूपमा पुष्टि भइसकेको छैन। अन्तर्राष्ट्रिय विज्ञ, विमान निर्माता कम्पनी, इन्जिन निर्माता तथा सम्बन्धित निकायहरू मिलेर अनुसन्धान गरिरहेका छन्। बाँकी प्रमाण सङ्कलन तथा विश्लेषणको कार्य जारी रहेको छ। एयर इन्डियाले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जनाएको छ भने विमान निर्माता कम्पनीले प्रभावित सबैप्रति समवेदना व्यक्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ