कांग्रेस महाधिवेशन प्रक्रियामा अलमल: '०८४ को निर्वाचन सङ्कटपूर्ण' हुने गुरु घिमिरेको चेतावनी [भिडियो]
अनुशासन समितिले गरेको कारबाहीमाथि असन्तुष्टि
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
596
Shares
काठमाडौं। नेपाली कांग्रेसका नेता गुरु घिमिरेले पार्टी महाधिवेशनको प्रक्रियामा अगाडि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो वर्ष महाधिवेशनको वर्ष भए पनि पार्टीको सम्पूर्ण ध्यान त्यसमा केन्द्रित हुन नसकेको बताए।
घिमिरेले समयमै महाधिवेशन गरेर २०८४ सालको आम निर्वाचनतिर ध्यान केन्द्रित गर्नुपर्नेमा त्यसो हुन नसकेकोमा असन्तुष्टि जनाए। उनले २०८४ को निर्वाचन नेपाली कांग्रेसका लागि ’इतिहासकै सङ्कटपूर्ण’ हुनेवाला रहेको बताए। "नेपालका कम्युनिष्टहरू एउटा वृहत् दायरामा समेटिने र सिंगो कम्युनिष्ट पार्टी बनाएर नेपाली कांग्रेसमाथि खनिने तयारीमा छन्," उनले भने, "परम्परागत शक्तिहरू पनि सक्रिय भएका छन्।"
उनले भने, ‘महाधिवेशनको प्रक्रिया अघि बढ्न सकिरहेको छैन । महाधिवेशनको वर्ष हो यो । देश सामान्य रुपबाट अघि बढेको अवस्थामा हामीले सम्पूर्ण ध्यान महाधिवेशनमा लगाउनुपर्नेमा हामीले लगाइरहेका छैनौँ । हाम्रो ध्यान कता छ थाहा छैन । समयमै महाधिवेशन गरेर ०८४ को आम निर्वाचनतिर ध्यान केन्द्रित गर्नुपर्नेमा त्यो भइरहेको छैन । ०८४ को निर्वाचन हाम्रा लागि इतिहासकै संकटपूर्ण हुनेवाला छ । नेपालका कम्युनिष्टहरु एउटा वृहत दायरामा समेटिने र सिंगो कम्युनिष्ट पार्टी बनाएर नेपाली काँग्रेसमाथि खनिने तयारीमा छन् । परम्परागत शक्तिहरु सक्रिय भएका छन् ।’
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले आफूहरू कांग्रेस बन्दा पार्टीको अधिवेशनमा सयौँको सङ्ख्यामा प्रहरी प्रयोग गरेर सभापति बन्लान् भन्ने सोचेर नबनेको बताए। उनले कांग्रेस पछिल्लो समय पार्टीको सिद्धान्तबाट विचलित हुँदै गएको आरोप लगाए। "काँग्रेस बनिरहँदा हामीले के सोचेको होइन भने काँग्रेस पार्टीको अधिवेशनमा समेत सयौँको सङ्ख्यामा प्रहरी प्रयोग गरेर हाम्रा पार्टी सभापतिहरू पार्टी सभापति बन्लान् भन्ने अपेक्षाले काँग्रेस बनेका होइनौँ," उनले भने, "त्यसको ज्वलन्त घटना हामीले देख्यौँ।"
कांग्रेस नेता राधेश्याम पाठकले आफूहरूमाथि गरिएको कारबाही विधानविपरीत रहेको दाबी गरे। उनले आफूहरू बीपीको लोकतन्त्र, समाजवाद र राष्ट्रियताको सिद्धान्तमा हिँड्ने भएकाले कारबाहीको परवाह नगर्ने बताए। "जुन कारबाही भएको छ, त्यो विधानविपरीत छ। हामी बीपीको लोकतन्त्र, समाजवाद र राष्ट्रियतामा हिँड्ने मान्छे हो। हामी कुनै गद्दारी, कुनै दलाल, भ्रष्टाचारी गर्ने नेताको कार्यकर्ता होइन," उनले भने।
हालै कांग्रेसको अनुशासन समितिले पार्टी हितविपरीत कार्य गरेको भन्दै केही नेता तथा कार्यकर्ताहरूलाई कारबाहीको सिफारिस गरेको थियो, जसप्रति केही नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्।