एक वर्षमा आठ लाखभन्दा बढीले लिए श्रम स्वीकृति, यूएई पहिलो रोजाइमा
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २ शुक्रबार
729
Shares
काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २६६ जना श्रमिकले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो।
विभागका अनुसार, श्रम स्वीकृति लिनेहरूमध्ये ७ लाख ४४ हजार ८११ जना पुरुष र ९४ हजार ४५५ जना महिला रहेका छन्। यो सङ्ख्याले वैदेशिक रोजगारीमा जाने नेपालीको ठूलो हिस्सा पुरुष रहेको देखाउँछ, तर महिलाको सहभागिता पनि उल्लेख्य छ।
गत आर्थिक वर्षमा सबैभन्दा धेरै श्रमिकहरू गएका दश प्रमुख गन्तव्य मुलुकहरूमा युएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, कोरिया, क्रोएसिया र बहराइन रहेका छन्। यसले मध्यपूर्वका देशहरू अझै पनि नेपाली श्रमिकका लागि प्रमुख गन्तव्यका रूपमा रहेको पुष्टि गर्छ।
पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले विगत पाँच वर्षमा ३५ लाख १६ हजार ९६५ जनाले श्रम स्वीकृति लिएको उल्लेख गरे। उनका अनुसार, हालसम्म १ हजार ६८७ संस्थाहरूले इजाजत प्राप्त गरेकामा २०८२ असार मसान्तसम्म २१२ वटा संस्थाहरू नवीकरण भएका छन्।
महानिर्देशक भट्टराईले श्रम स्वीकृतिको सेवा प्रवाहलाई ’वर्क परमिट अन दि सेम डे’ को पूर्ण कार्यान्वयन भइरहेको पनि बताए। उनले रित नपुगेको अनलाइन दरखास्तको हकमा आवश्यक कागजात पेस गर्न तत्कालै सन्देश पठाउने गरिएको जानकारी दिए। वैदेशिक रोजगारीको क्षेत्रलाई विचौलियामुक्त गरी ’शून्य सहनशीलता’को नीतिलाई विभागले पूर्ण रूपमा अङ्गीकार गरेको उनको भनाइ छ।
महानिर्देशक भट्टराईले वैदेशिक रोजगारीसम्बन्धी कानुनलाई संशोधन गरी सरल, सहज र समयसापेक्ष बनाउने तथा वैदेशिक रोजगारीमा जान लाग्ने समय र लागत घटाउने विभागको आगामी योजना रहेको बताए।