सरकार हेरफेरको हल्ला निराधार, कामलाई तीव्रता दिने मन्त्री पाण्डेको भनाइ
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
645
Shares
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल मन्त्रिपरिषद् हेरफेरको कुनै कुरा नरहेको स्पष्ट पारेका छन्। आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले अहिले मन्त्री हेरफेरको हल्लाभन्दा पनि कामलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा सरकार केन्द्रित रहेको बताए।
"मन्त्री हेरफेरको कुरा हल्ला हो, सत्ता साझेदार दलहरूमा यस विषयमा कुरा भएको छैन," मन्त्री पाण्डेले भने। बाहिर हल्ला सुनेको उल्लेख गर्दै उनले कांग्रेस सभापति र प्रधानमन्त्रीबाट त्यस्तो कुनै संकेत नआएको दाबी गरे।
सरकार अझै एक वर्षसम्म चल्ने र वर्तमान सत्ता गठबन्धन वि.सं. २०८४ सम्म कायम रहने मन्त्री पाण्डेको भनाइ थियो। उनले बाहिरी हल्लाको कुनै सत्यता नरहेको भन्दै प्रधानमन्त्रीले तीव्रताका साथ काम गर्न निर्देशन दिएको बताए।
फरक प्रसंगमा बोल्दै मन्त्री पाण्डेले भरतपुर विमानस्थल विस्तारमा केही जटिलता रहेको स्वीकार गरे। "सरोकारवाला पक्ष, सेना लगायतसँग हामीले छलफल गरिरहेका छौँ, यस पटक नागरिक उड्डयन प्राधिकरणको बजेटमा समावेश गरेर विस्तारको काम अघि बढ्छ," उनले भने।
कोरोना महामारीपछि नेपाल आउने पर्यटकको संख्या घटेको भए पनि पछिल्ला दिनमा यो संख्या बढ्दै गएको उनले जानकारी दिए।