ताप्लेजुङमा विपद् व्यवस्थापन सामग्री भण्डारण केन्द्र
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
405
Shares
ताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घा ताप्लेजुङमा निर्माण गरिएको विपद् व्यवस्थापन सामग्री भण्डारण केन्द्रको भवन उद्घाटन गरिएको छ ।
बाढी, पहिरो, आगलागीलगायत विपद्का घटनाको पूर्व तयारी तथा उद्धार कार्यमा प्रयोग हुने सामग्री व्यवस्थापन गर्न निर्माण गरिएको उक्त केन्द्रको फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले उद्घाटन गरेका हुन् ।
कूल रु आठ लाख ६० हजार ७ सय ८८ मा सम्पन्न भवन निर्माणमा फुङ्लिङ नगरपालिकाबाट रु ६ लाख र गुल्मको आन्तरिक स्रोत तथा श्रमदानमार्फत बाँकी रकम व्यवस्थापन गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनले जानकारी दिए।
उनका अनुसार उद्धार सामग्री व्यवस्थापनमा विभिन्न सङ्घसंस्था तथा सरोकार भएका निकायले सहयोग गरेका छन् ।
मिक्वाखोला गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका, पाथीभरा क्षेत्र विकास समिति तथा डिभिजन वन कार्यालय ताप्लेजुङद्वारा विभिन्न उद्धारका सामग्री प्राप्त भएको जनाउँदै उक्त सामग्री पनि भण्डारण गरिएको प्रहरी नायब उपरीक्षक महर्जनले बताए । रासस