सरकारको असक्षमताले शिक्षा क्षेत्र ध्वस्त भयो : चन्द्र भण्डारी [भिडियो]
त्रिभुवन विश्वविद्यालयजस्ता शैक्षिक संस्थाहरू पटक–पटक बन्द हुनुमा सरकारको असफलता
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
535
Shares
काठमाडौँ। नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सरकारको उदासीनता र अकर्मण्यताका कारण देशको शिक्षा क्षेत्र ध्वस्त भएको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयजस्ता शैक्षिक संस्थाहरू पटक–पटक बन्द हुनुमा सरकारको असफलता रहेको बताए।
सांसद भण्डारीले सरकारले विश्वविद्यालयको व्यवस्थापन र शैक्षिक सुधारका लागि कुनै काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे। उनले अहिले विश्वमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका नयाँ प्रविधिहरूमा आधारित पाठ्यक्रमहरू बनिरहेको भए पनि नेपालका विश्वविद्यालयहरूले त्यसमा ध्यान नदिएको बताए।
उनले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नका लागि शैक्षिक क्षेत्रमा तत्काल सुधार गर्न आवश्यक रहेको बताए। उनले सबै प्रकारको प्राविधिक तथा पेसागत शिक्षा सार्वजनिक विश्वविद्यालयबाटै उपलब्ध गराएर आर्थिक रूपमा कमजोर विद्यार्थीले पनि पढ्न पाउने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए।
यस विषयमा सरकारलाई तत्काल कदम चाल्न निर्देशन दिन उनले सभामुखको ध्यानाकर्षण गराएका छन्।