arrow

बुढानीलकण्ठमा कांग्रेसले गर्‍यो रुपन्देही-३ को उपनिर्वाचन रणनीतिबारे छलफल

उपनिर्वाचनका लागि कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा भने कुनै छलफल भएन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
budhanilkantha-deuba-niwas-.jpg

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनबारे छलफल गरेको छ। शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी तथा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुसमेतको बैठकले उपनिर्वाचनका लागि पार्टीको रणनीति र योजनाबारे छलफल गरेको हो।

पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार, बैठकमा मन्त्री हेरफेर गर्ने विषयले भने प्रवेश पाएन। गत निर्वाचनमा रुपन्देही ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा निर्वाचित भएका थिए। उनको निधन भएसँगै यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो, जुन आगामी कार्तिक १७ गते हुनेछ। यद्यपि, उपनिर्वाचनका लागि कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा भने कुनै छलफल नभएको प्रमुख सचेतक घिमिरेले बताए।

प्रमुख सचेतक घिमिरेले रुपन्देही ३ को उपनिर्वाचनका विषयमा छलफल भएको र मुख्य रूपमा आगामी उपनिर्वाचनमा पार्टीको रणनीति र योजनामा केन्द्रित रहेको बताए। उनका अनुसार, ०७९ को निर्वाचनमा विभिन्न गठबन्धनका कारण चुनाव लडिएको थियो।

उनले भने, "गठबन्धनलाई पर राखेर समानुपातिक मत पार्टीको हेर्दा कांग्रेस पहिलो पार्टीकै रूपमा थियो। २० हजार मत प्राप्त गरेको थियो। दोस्रो पार्टी एमाले १६ हजार र तेस्रो पार्टी रास्वपा १४ हजार मत थियो। त्यसपछि क्रमशः मधेसवादी दलहरु थिए।"

घिमिरेले अहिलेको पोजिसनबारे ठ्याक्कै भन्न गाह्रो भए पनि कांग्रेस, एमाले, रास्वपा र मधेसकेन्द्रित दलहरू एक भएर लड्ने चर्चा पनि आएको उल्लेख गरे। उनले कांग्रेस नै पहिलो पार्टी रहेको र गत निर्वाचनमा प्राविधिक रूपले चुनाव हारेको बताए। स्थानीय निर्वाचनमा पनि कांग्रेस पहिलो पार्टी रहेको र आफ्नो भोटको अवस्था मजबुत रहेको कांग्रेसको ठम्याइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ