मन्त्रालयले सातै प्रदेशमा पठायो रेबिज विरुद्धको ५१ हजार भायल खोप, सर्पदंश विरुद्धको औषधि पनि आपूर्ति
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
565
Shares
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले देशभरका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन र सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ। यससँगै देशभर यी अत्यावश्यक औषधिको अभाव हट्ने अपेक्षा गरिएको छ।
विभागअन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यसअघि नै खरिद भइसकेका औषधिहरू प्रदेश सरकारका स्वास्थ्य संस्थामा वितरणका लागि आपूर्ति केन्द्रहरूमा पुगिसकेको जानकारी दिए।
रेबिज र सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधिको अभावबारे समाचार सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले तत्काल आपूर्ति व्यवस्थापन गर्न र भविष्यमा अभाव हुन नदिन आवश्यक सबै उपाय अपनाउन मातहतका अधिकारीहरूलाई निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार स्वास्थ्य सेवा विभागले दुवै प्रकारका औषधि सबै प्रदेशमा आपूर्ति गरेको हो।
विभागको तथ्यांकअनुसार, रेबिजविरुद्ध उपयोग हुने ५१ हजार १ सय ८० भायल भ्याक्सिन प्रदेश आपूर्ति केन्द्रहरूमा पुगेको छ। बागमती प्रदेशमा सबैभन्दा बढी १० हजार ८० भायल रेबिजविरुद्धको खोप र १ हजार भायल सर्पदंशविरुद्धको भेनम आपूर्ति गरिएको छ।
सर्पदंशका बढी समस्या आउने मधेस प्रदेशमा भने सर्पदंशविरुद्धको भेनम सबैभन्दा बढी २ हजार ५ सय भायल तथा रेबिजविरुद्धको खोप करिब ५ हजार भायल आपूर्ति गरिएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, मागका आधारमा अन्य प्रदेशमा पनि भ्याक्सिन तथा भेनम आपूर्ति गरिएको छ।
विभागले हाल आपूर्ति गरिएका औषधिहरूको अतिरिक्त दुई महिनाभित्र हालको आपूर्तिको चार गुणा बढी औषधि भित्र्याउने गरी व्यवस्था मिलाएको जनाएको छ। यसले भविष्यमा पनि यी औषधिको अभाव हुन नदिने योजना रहेको देखिन्छ।