देशभरका नदीहरूमा जलसतह बढ्दो, सतर्क रहन विभागको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
562
Shares
काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाका कारण जल तथा मौसम विज्ञान विभागले जलसतह बढ्ने भन्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। विभागले विशेष गरी नदीतटीय क्षेत्रमा रहेका बासिन्दा र यात्रुहरूलाई सावधानी अपनाउन अनुरोध गरेको छ।
भक्तपुर: हनुमन्ते खोलाको कौशलटार जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको र बढ्दो क्रममा रहेकाले बिहानसम्म सावधानी अपनाउन भनिएको छ।
रुकुमपश्चिम: ठूलो भेरी नदीको रिम्ना जलमापन केन्द्रको जलसतह पनि सतर्कता आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी छेउछाउ र डुबान हुने होचा स्थानमा रहेकाहरूलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
म्याग्दी: म्याग्दी खोलाको मङ्गलाघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गर्ने क्रममा रहेकाले नदीतटीय क्षेत्रका साथै कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन विभागले मध्यरातमा सूचना जारी गरेको छ।
विभागले सबैलाई अर्को सूचना नआएसम्म नदी किनारमा नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।