काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय च:मतीमा बस्दैछ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका विभिन्न संगठनात्मक गतिविधिबारे छलफल हुनेछ।
बैठकले रुपन्देही–३ मा हुने उपनिर्वाचनको तयारी र निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने विषयमा समीक्षा गर्नेछ। साथै, संसदीय दलको बैठकका पछिल्ला निर्णयहरू, सुदूरपश्चिम प्रदेशको समस्या समाधानका लागि बनेको कार्यदलको प्रगति, र पार्टीको विधानमा अनुशासन आयोगको प्रयोजनका लागि आवश्यक व्याख्या अनुमोदन गर्नेबारे पनि छलफल हुनेछ।
यसबाहेक, बैठकको एजेन्डामा प्रतिनिधि सभाको समानुपातिक सूचीबाट नाम हटाउनेसम्बन्धी निवेदन, अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ‘फ्युचर लिडर्स समिट’ आयोजना गर्ने, र भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थप गर्ने विषयहरू पनि राखिएको छ।
बैठकमा पार्टीको केन्द्रीय समिति बैठक र प्रस्तावित विषयहरू, रणनीतिक समूह र विभाग प्रमुखहरूको नियुक्तिबारे पनि छलफल हुने बताइएको छ। विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न दबाब दिने अभियान र सभापति रवि लामिछानेमाथि भएको ‘राजनीतिक प्रतिशोध’ विरुद्ध जनताको हस्ताक्षर अभियानलाई प्रभावकारी बनाउने सम्बन्धमा पनि बैठकमा कुराकानी हुनेछ।