हसिना र उनको परिवारविरुद्ध भ्रष्टाचार मुद्दामा सुनुवाइ शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
1.2k
Shares
काठमाडौँ। बङ्गलादेशकी पूर्व राष्ट्रपति शेख हसिना र उनको परिवारका सदस्यहरूविरुद्ध भ्रष्टाचार विरोधी आयोग (एसीसी) ले दायर गरेको मुद्दामाथि सुनुवाइ शुरु भएको छ।
एसीसीका तीन अधिकारीहरूले राजधानी ढाकामा जग्गा हडप्ने तीन छुट्टाछुट्टै घटनामा संलग्न रहेको आरोपमा हसिना र उनका परिवारका सदस्यहरूमाथि मुद्दा चलाइएको बताए।
विद्यार्थी आन्दोलनपछि सन् २०२४ अगस्ट ५ मा बङ्गलादेशबाट भागेकी ७७ वर्षीया हसिनामाथि दर्जनौं मुद्दाहरू छन्। उनीमाथि विद्रोहको दमनका क्रममा मानवताविरुद्धको अपराधको आरोप पनि लागेको छ।
हसिना, उनका छोरा सजिब वाजेद जोय, र छोरी साइमा वाजेद (जो विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्व एसिया प्रमुख हुन्) लाई भ्रष्टाचारको छवटा अभियोगमा मुद्दा चलाइएको छ।
एसीसीका वकिल खान मोहम्मद मैनुल हुसेनले यदि उनीहरू दोषी ठहरिएमा १४ वर्षसम्मको जेल सजाय हुन सक्ने बताएका छन्। साइमा वाजेद अहिले डब्ल्यूएचओको जिम्मेवारीबाट बिदामा छिन्।
अन्य मुद्दाहरूमा हसिनाकी बहिनी शेख रेहाना र बेलायती सांसद टुलिप सिद्दिक (हसिनाका भान्जी) को पनि नाम जोडिएको छ।
गत जनवरीमा बेलायत सरकारका भ्रष्टाचारविरोधी मन्त्री रहेकी सिद्दिकले राजीनामा दिएकी थिइन्। उनका वकिलले आफूमाथि लगाइएका आरोपहरू झूटो भएको बताएका छन्।