arrow

उपकुलपति नियुक्त नगरिए सेवा ठप्प गर्ने चेतावनी

logo
प्रकाशित २०७३ माघ १३ बिहिबार
Jumla--hamrakura.jpg.jpeg
जुम्ला । नौ महिनादेखि उपकुलपतिविहीन बनाइएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले उपकुलपति नियुक्त गर्न अझै ढिलाइ गरिए सेवा ठप्प गर्ने चेतावनी दिएको छ । 
 
प्रतिष्ठानका नर्सिङ डिन गायत्री राईको अध्यक्षतामा यहाँको मेडिकल डाइरेक्टर, चिकित्सक तथा कर्मचारी सहभागी बैठकले सेवा बन्द गर्ने चेतावनी दिएको हो । 
 
जुम्लामा बुधबार पत्रकारसम्मेलनको आयोजना गरी एक साताभित्र पदाधिकारी नियुक्त नगरिए प्रतिष्ठान केन्द्रीय कार्यालयको अस्पताल, प्रशासन, प्राज्ञिक, आर्थिक, शैक्षिक तथा दैनिक कार्यालय सञ्चालन ठप्प गर्ने कुरा सार्वजनिक गरिएको छ । 
 
प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले पत्रकारमाझ सेवा ठप्प गर्ने कुरा सार्वजनिक गरिएको र अपिलमार्फत सहकुलपतिलाई जानकारी गराइएको बताए ।
 
 “गएको असोज १४ लिखित रुपमा कार्यवाहक उपकुलपतिको जिम्मा पाएका डा धर्मराज श्रेष्ठ अधिकांश समय सम्पर्क कार्यालयमा बस्दै आएका छन् । प्रतिष्ठान विषम परिस्थितिमा पुग्दा पनि सरकारले पदाधिकारी नियुक्तिमा ध्यान दिएको छैन, यो प्रतिष्ठानलाई अपहेलना गरिएको छ, यदि यही अवस्थालाई कायम राखिए अस्पतालका सबै सेवा पूर्ण रुपले बन्द गर्छौं,” उनले भने । 
 
प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा पुजन रोकायाले पदाधिकारी रिक्त हुँदा प्रतिष्ठानको सबै क्षेत्रमा अस्तव्यस्त भएको गुनासो गरे । 
 
नेतृत्व गर्ने पदाधिकारी नभएपछि जनशक्तिको अभाव पनि हुँदै गएको डा रोकायाको भनाइ छ । 
 
यता डा सूर्यमान लिम्बूले उपकुलपति मात्र नभई रजिस्ट्रार र अस्पताल निर्देशक समेतका पदाधिकारी नहुँदा लामो समयदेखि कार्य परिषद्को बैठक बस्न नसकेको बताए । 
 
डा लिम्बूका अनुसार प्रतिष्ठानको परिचालन तथा व्यवस्थापनमा निकै ठूलो समस्या हुँदै गएको छ । 
 
पदाधिकारीविहीन हुँदा प्रतिष्ठानको तीन सय श्ययाको निर्माणाधीन भवनको कामको भुक्तानी दिन नसकिएको प्रतिष्ठानले जनाएको छ । 
 
मुलुकका अन्य प्रतिष्ठानमा पदाधिकारीविहीन हुने बित्तिकै तुरुन्तै सरकारी चासो हुने तर यहाँको प्रतिष्ठानमा नौ महिना पदाधिकारीविहीन हुँदा पनि सरकार उदासीन देखिएकामा कर्णालीवासीले आक्रोश पोख्दै आएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ