काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई महिला स्वास्थ्यसम्बन्धी विशिष्टीकृत राष्ट्रिय धरोहरको संज्ञा दिएका छन्। उनले अस्पतालले लाखौँ आमा र शिशुको जीवन जोड्ने महत्त्वपूर्ण काम गरेको बताएका छन्।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अस्पतालले सुरु गरेका नियोनेटल स्क्रिनिङ र मिल्क बैंक जस्ता कार्यक्रमले नवजात शिशु मृत्युदर घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै, सरकारले ल्याएको निःसन्तान उपचार मापदण्डको सफल कार्यान्वयनमा अस्पतालको पुनःस्थापित आईभीएफ सेवाले नेतृत्वदायी भूमिका खेल्ने उनले बताए।
मन्त्री पौडेलले भविष्यमा अस्पतालको शय्या संख्या ११ थप गरेर ५०० पुर्याउने योजना रहेको जानकारी दिए। काठमाडौँका दुई नगरपालिकामा २५/२५ शय्याका स्याटेलाइट प्रसूति अस्पताल निर्माण गरेर उपत्यकाको बढ्दो चाप व्यवस्थापन गर्ने तयारी पनि भइरहेको उनले बताए। उनले स्त्रीरोग, आमा तथा शिशु सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमा कार्यक्रमसँग जोड्ने पनि जानकारी दिए।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले गत आर्थिक वर्षमा करिब २१ हजार सफल प्रसूति गराइएको र बहिरङ्ग विभागबाट दुई लाख ३३ हजारभन्दा बढीले सेवा लिएको बताए। उनले 'नियोनेटल स्क्रिनिङ टेस्ट' बाट २० जना नवजात शिशुमा रोगको पहिचान गरी उपचार गरिएको पनि जानकारी गराए।
विसं २०१६ भदौ १० गते श्रीकृष्ण जन्माष्टमीको दिन ४० शय्याबाट स्थापना भएको यो अस्पताल हाल ४८९ शय्या क्षमतामा सञ्चालनमा छ।