सर्लाही । नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहले पदबाट राजीनामा दिएका छन् । मनुष्मारा सिँचाइ आयोजनामा रूख कटान प्रकरणमा भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहरिएपछि सिंहले नैतिकताको आधारमा पद त्यागेका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले पठाएको राजीनामा पत्रमा अदालतको फैसलापछि जिम्मेवारीमा बसिरहन नमिल्ने उल्लेख गरिएको छ ।
सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालत र सर्वोच्च अदालत दुबैबाट उनी दोषी ठहरिएका थिए ।
उनले आफू अन्यायमा परेको र कानूनी लडाइँ भने लडिरहने बताएका छन् ।