arrow

नेपाली सेनाद्वारा २२ वटा ‘शीघ्र प्रभावी’ आयोजना सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ९ सोमबार
sena-sss.jpg

काठमाडौँ। नेपाली सेनाले आर्थिक वर्ष २०८१/८२ मा आफ्नो नियमित जिम्मेवारीभन्दा बाहिर रहेर विभिन्न २२ वटा 'शीघ्र प्रभावी आयोजना' सम्पन्न गरेको छ। कम समय र न्यूनतम लगानीमा अधिकतम जनसमुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यले यी परियोजनाहरू सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ।

सेनाका सहायकरथी एवं प्रवक्ता राजाराम बस्नेतका अनुसार, सांस्कृतिक र पुरातात्विक महत्त्वका संरचनाहरूको मर्मत सम्भार गरी इतिहासको संरक्षणमा टेवा पुर्‍याउन रु. २ करोड ५६ लाखको लागतमा ती आयोजनाहरू सम्पन्न गरिएका हुन्। यी परियोजनाहरू उपत्यका, पूर्वी, मध्यपूर्वी, मध्य, पश्चिम, मध्य पश्चिम, उत्तर पश्चिम र सुदूरपश्चिम लगायतका पृतनाअन्तर्गत कार्यान्वयन भएका थिए।

सम्पन्न आयोजनाका मुख्य बुँदाहरू
पुरातात्विक सम्पदाको संरक्षण: नेपाल एकीकरण र ऐतिहासिक महत्त्व बोकेका विभिन्न मठ-मन्दिर, कोटगढी र दरबारहरूको मर्मत सम्भार गरिएको छ। यस अन्तर्गत बाजुराको बडी मालिका मन्दिरको पुनर्निर्माण, उदयपुरको चौदण्डी गढी, नुवाकोटको बेलकोट गढी, पाल्पाको माथागढी, र गुल्मीको मुसिकोट दरबारको स्तरोन्नति लगायतका कार्यहरू प्रमुख छन्।

सामाजिक विकासका परियोजनाहरू: सामाजिक आवश्यकतालाई ध्यानमा राखेर विभिन्न परियोजनाहरू पनि सञ्चालन गरिएका छन्। यसमा चितवनको देवघाटस्थित महेश आश्रममा गौशाला निर्माण, मुस्ताङको कागबेनीमा श्राद्ध स्थलमा ट्रस घर निर्माण, र महिला तथा विकट क्षेत्रका छात्राहरूको सहजताका लागि शौचालय निर्माण लगायतका कार्यहरू समावेश छन्।

आधारभूत पूर्वाधार निर्माण: 'एक पालिका, एक हेलिप्याड' नीतिलाई सहयोग पुर्‍याउन मुगुको मुगुम कार्मारुङ गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ। यसले विपद्को समयमा र गर्भवती महिलाहरूको हवाई उद्धारमा सहयोग पुग्ने विश्वास गरिएको छ। यसैगरी, डडेलधुरा र डोटीका स्थानीयलाई खानेपानीको सहज पहुँच पुर्‍याउन पिउने पानी ट्याङ्की निर्माण र पाइपलाइन विस्तार गरिएको छ।

सहरी सौन्दर्यीकरण: पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको नारायणहिटी सङ्ग्रहालय परिसरमा रहेको झिल पोखरीको मर्मत र बाराको कलैया बजारमा नेपालको झण्डा तथा मोनोग्राम निर्माणको काम सुरु गरिएको छ।

सम्पन्न भएका सबै आयोजनाहरू सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गरिएको र यसबाट स्थानीय जनतामा विकास निर्माण र सौन्दर्यीकरणप्रति अपनत्वको भावना जागृत हुने विश्वास गरिएको सेनाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ