सार्वजनिक नीति समितिमा छैटौँ वार्षिक प्रतिवेदनको खाकाबारे छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
1.6k
Shares
काठमाडौँ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा बुधबार समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल गरिएको छ ।
बैठकमा समिति सचिव सञ्जय दाहालले प्रतिवेदनको खाका प्रस्तुत गरेका हुन् । सचिव दाहालका अनुसार गत वर्षको अनुभवसहित यस पटक कार्यक्रम एवं योजनाहरु ल्याइएको छ ।
उनले भने, ‘गत वर्षको अनुभवसहित यो वर्ष हामीले हाम्रा कार्यक्रम, योजनाहरु सुधार गर्नुपर्नेछ । त्यसको समीक्षा हामी पछि गर्छौँ । यो प्रतिवेदनको खाकाको सन्दर्भमा परिच्छेद १. पृष्ठभूमि, २. समिति गठन, ३.समितिको कार्यक्षेत्र काम, कर्तव्य र अधिकार, ४. समितिको कार्यविधि, ५.उपसमिति एवं कार्यदलहरुको गठन रहनेछ ।’
सचिव दाहालद्वारा प्रतिवेदनको खाकामाथि आफ्नो धारणा राख्दै नेकपा एमालेकी सांसद सुमित्रा बिसीले परिच्छेद ४ मा रहेको समितिको कार्यविधिअन्तर्गत ४.३ मा रहेको सरकारी आश्वासन कार्यान्वयन अवस्था, स्थलगत अवलोकन तथा अनुगमनमा त्यसको उपलव्धि पनि थप्नुपर्ने सुझाव दिइन् ।
‘प्रतिवेदन तयार गर्नका लागि शीर्षकहरु तयार भएको छ । व्यवस्थित नै छ भन्ने लाग्छ । यो परिच्छेद ४ को ४.३ मा रहेको सरकारी आश्वासन कार्यान्वयन अवस्था, स्थलगत अवलोकन तथा अनुगमनबाट देखिएका विषय भन्नेमा यसको उपलव्धि थप्न पाए अझै राम्रो हुन्थ्यो,’ उनले भनिन् ।