योजना निर्माण र विनियोजनको गम्भीर समस्यामा छौँ : मन्त्री पौडेल
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १२ बिहिबार
613
Shares
काठमाडाैँ । अर्थमन्त्री विष्णु पौडेलले योजना निर्माण र विनियोजनमा गम्भीर समस्यामा रहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित नेपालको बजेट कार्यान्वयनमा चुनौती विषयक सार्वजनिक नीति संवाद कार्यक्रममा उनले योजना निर्माण र विनियोजनमा भएको गम्भीर समस्याबाट बाहिर निस्कन कोसिस भए पनि त्यति नै पर्याप्त नभएको बताए ।
उनले भने, ‘योजना निर्माण मा र विनियोजनमा हामी एउटा गम्भीर समस्यामा छौँ । र त्यो समस्याबाट बाहिर निस्कने कोसिस पनि भएको छ । तर हाम्रो कोसिस अझै पर्याप्त भएको छैन भन्ने मलाई लागेको छ ।’
उनले यसपटक बैंकभन्दा बाहिरबाट योजना इन्ट्री गर्दैनौँ, तीन करोडभन्दा सानो योजना संघीय सरकारको योजनामा समावेश गर्दैनौँ भन्ने निष्कर्षमा उभिनका लागि धेरै ठूलो चुनौतीको सामना गर्नुपरेको बताए ।
अप्ठ्यारालाई चिर्दै वस्तुनिष्ठ, आवश्यक्ता सापेक्षित र स्रोत सापेक्षित भएर योजना निर्माण गर्नुपर्ने धारणा राखे । साथै स्रोतलाई अत्याधिक प्रतिफल हुने गरी योजनामा विनियोजन गर्ने ढाँचामा जान आवश्यक रहेको पनि मन्त्री पौडेलले बताए ।
उनले भने, ‘यसपटक बैंकभन्दा बाहिरबाट योजना इन्ट्री गर्दैनौँ । तीन करोडभन्दा सानो योजना संघीय सरकारको योजनामा समावेश गर्दैनौँ भन्ने त्यो निष्कर्षमा उभिनको लागि धेरै ठूलो चुनौतीको सामना गर्नुपर्यो । त्यसकारण यो अप्ठ्याराबीच हामी छौँ । तथापि यी अप्ठ्यारालाई चिर्दै योजना वस्तुनिष्ठ ढंगले निर्माण गर्ने आवश्यक्ता सापेक्षित, स्रोत सापेक्षित भएर योजना निर्माण गर्ने र त्यो स्रोतलाई अत्याधिक प्रतिफल हुनेगरी योजनाहरुमा विनियोजन गर्ने ढाँचामा हामी जानैपर्छ ।’