arrow

रुपन्देही ३ का रास्वपाले उम्मेदवार तोकेका थापा बहुविवाहधारी ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
lekhjung-thapa-rsp-bygamy.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा लेखजंग थापालाई बहुविवाहको उजुरीबीच पनि आगामी कार्तिक १७ गते हुने रुपन्देही– ३ को उपनिर्वाचनमा उम्मेदवार बनाएपछि विवाद आएको छ । 

रास्वपाले रुपन्देही ३ को उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएसँगै महत्वाकांक्षीलाई उम्मेदवारीका लागि आवेदन मागेको थियो । जसमा ९ जनाको उम्मेदवारी परेको थियो । कसैले पनि उम्मेदवारी नछाडेपछि विभिन्न चरणमा भएका वार्तापछि आइतबार भदौ १५ गते रास्वपाले डा थापालाई उम्मेदवार बनाउने निर्णय गर्यो । 

एकसेएक दावेदार बीचबाट डा थापालाई रास्वपाले छानेपछि यतिबेला सामाजिक सञ्जालमा आलोचना व्याप्त रहेको छ । 

त्यो हो रास्वपाको नेता हुन बहुविवाह नै गरेको हुनुपर्ने योग्यता चाहिने रहेछ । बहुविवाहवाला पनि रास्वपाको एउटा महत्वपूर्ण योग्यतामा पर्ने रहेछ भन्दै आलोचनासँगै व्यङ्ग्य भइरहेको हो । 

पार्टीको लुम्बिनी इन्चार्ज सहमहामन्त्री विपिनकुमार आचार्य हुन् । रास्वपाले उनैलाई कात्तिक १७ गतेको उपनिर्वाचनका लागि पार्टीका तर्फबाट चुनावी कमान्डर तोकेको छ । 

डा थापासँगै सुलभ खरेल, मधुप्रसाद अर्याल, जीतबहादुर गुप्ता, रचना क्षेत्री, ज्ञानु पौड्याल, कुसुम महर्जन, पार्थिवेन्द्र उपाध्याय र पुनमकुमारी अग्रवाल उम्मेदवारीका आकांक्षी हुन् । बाँकी आठ जनाले थापालाई स्वीकारेका छैनन् । उनीहरुले त डा थापाविरुद्ध उजुरी नै गरिसकेका थिए । गत भदौ ३ गते आकांक्षी सुलभ खरेलको अध्यक्षतामा बसेको नौ जनाको विशेष बैठकमा थापाले अनधिकृत काम गरेको भन्दै कारबाहीको उजुरी नै परेको छ । 

उक्त उजुरी उल्लेख गरिएको (माइन्युट) मा आठै जना आकांक्षीले हस्ताक्षर गरेर डा थापालाई कारबाही गर्न केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, लुम्बिनी प्रदेश सभापति र रुपन्देही जिल्ला सभापतिलाई पनि बोधार्थ दिइएको छ ।

उक्त उजुरीमा अनुशासन पालन नगरेको, गोप्य चुनावी रणनीति र संवाद रेकर्ड गरेकोसमेत भनिएको छ । 

उक्त बैठकमा सबै जनाको मोबाइल लगायतका सबै उपकरण बैठक बाहिर लकरमा राख्ने सहमति भएको थियो । 

डा थापाले भने गोप्य रूपमा क्यामरा सहितको चस्मा प्रयोग गरी प्रमाण कैद गरेको दाबी गरिएको छ । उजुरीमा अनुसन्धान गरी कारबाहीको पनि माग गरिएको छ ।

उजुरीमा बाँकी सदस्यहरूको व्यक्तिगत जीवन र राजनीतिक भविष्यमा समेत गम्भीर प्रभाव पार्ने देखिएको हुनाले यस्तो गैरराजनीतिक चरित्रलाई पार्टी विधान बमोजिम आवश्यक अनुसन्धान गरी अनुशासनात्मक कारबाहीका लागि माग गरिएको छ । 

त्यस्तै थापाले बहुविवाह गरेको भन्दै रास्वपा सचिवालय तहका केही नेताहरूले पार्टीमा कुरा उठाउनुका साथै सहकारी ठगी प्रकरणमा काठमाडौँको नख्खु कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई पनि जानकारी गराएको स्रोतको दाबी छ । 

के हो त उनको वैवाहिक अवस्था ? 
उनको बहुविवाहको चर्चा चुलिएसँगै रास्वपाका बारेमा सामाजिक दृष्टिकोण बदलिने गरी सामाजिक सञ्जाल उछालिएको छ । यद्यपि डा थापाले आफ्नी एक श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको दाबी गरेको बताइन्छ । तर कहिले मिति उल्लेख छैन । 

थापाका निकटस्थ डाक्टरहरूले उनी दुवै जना श्रीमतीसँग सँगै बस्दै आएको बताएका छन् । उनको सम्बन्ध विच्छेद नै नभएको उनीहरुको दाबी छ । 

यो दाबीलाई आधार मान्ने हो भने रास्वपाका नेताहरुको भनाइ झुटो हो भन्ने स्पष्ट हुन्छ । 

जसरी डा थापाले पाँच वर्षअघि युट्युबमा ‘सुपर थापा फ्यामिली’ राखेका थिए त्यसरी नै एक अहिना अगाडिमात्रै नुमाले सामाजिक सञ्जालमा हालेको फोटोमा थापाका दुवै श्रीमती सँगसँगै र खुशी देखिएका छन् । 

तीन साता अगाडिको टिकटक भिडियोमा पनि उनीहरु खुशी नै देखिएका छन् 

यसलाई आधार मान्दा पनि डा थापाको अहिलेसम्म बहुविवाह कायम रहेको स्पष्ट हुन्छ । 

बाँकी रास्वपाले नै जानोस् । त्यसैले होला सामाजिक सञ्जालमा रास्वपा उम्मेदवार हुने योग्यतामा यसलाई पारिएको भन्दै आलोचना भइरहेको छ ।

बहुविवाह गर्न पाइन्छ ?
थापा बहुविवाहधारी रहेको खुलेको छ । नेपालको कानूनले कुनै पनि व्यक्तिलाई बहुविवाह गर्न दिँदैन । मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा बहुविवाह गर्न नहुने स्पष्ट उल्लेख छ । 

उक्त दफाको उपदफा १ मा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने उल्लेख छ । 

उक्त दफाको उपदफा २ मा कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्न नहुने उल्लेख छ । 

उक्त दफाको उपदफा ३ मा १ र २ मा जुनसुकै कुरा लेखिएको भए तापनि पति पत्नीले कानून बमोजिक अंशवण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्नेछ भन्ने उल्लेख छ । 

उपदफा ४ मा १ वा २ बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा दश हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिबाना हुने उल्लेख छ । 

त्यस्तै उपदफा ५ मा उपदफा १ बमोजिमको विवाह स्वतः बदर हुनेछ भन्ने उल्लेख छ । 

त्यस्तै उपदफा ६ मा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि यो संहिता लागू हुनुअघि तत्काल प्रचलित कानून बमोजिम भएको विवाहको हकमा यस दफामा लेखिएको कुनै कुराले असर पारेको मानिने छैन भन्ने उल्लेख छ । 

यद्यपि दफा १७६ मा यस परिच्छेद अन्तर्गतको कसूरमा कसूर भए गरेको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन भन्ने उल्लेख छ । 

मुलुकी देवानी संहिता २०७४ को दफा ७२ मा विवाह बदर सम्बन्धी उल्लेख छ । उक्त दफाको उपदफा १ को (घ) मा ‘कानून बमोजिम अंशबण्डा गरी भिन्न भएको अवस्थामा बाहेक विवाहित पुरुष वा महिलाले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा गरेको अर्को विवाह’ बदर हुने उल्लेख रहेको हो । 

नेता रास्वपाका कि नाउपाका ?
डा थापा २०७९ सालको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तर्फबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसदको सूचीमा थिए ।

नाउपाले उनको नाम अहिले पनि निर्वाचन आयोगमा पेस गरेको अन्तिम बन्द सूचीको नवौँ नम्बरमा छ ।

उनले समानुपातिकबाट आफ्नो नामै नहटाइ रास्वपाको प्रतिस्पर्धाको दौडमा सामेल भएको आरोप छ । यद्यपि उनको नाम समानुपातिकको सूचीबाट हटे, नहटेको यकिन छैन ।

डा थापाकी कान्छी श्रीमती नुमा शर्मा पनि नाउपाकै कोटाबाट लुम्बिनी प्रदेश योजना आयोगको सदस्य भएकी थिइन् ।

नर्सिङमा मास्टर्स गरेकी नुमालाई लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री जोखबहादुर महराले २०८१ जेठमा प्रदेश योजना आयोग सदस्य नियुक्त गरेका थिए । 

पछि चेतनारायण आचार्य मुख्यमन्त्री बनेपछि उनलाई हटाइएको थियो । 

थापाकी पहिलो श्रीमती सुलोचना घिमिरेले बिएससी नर्सिङ गरेकी छन् । उनी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत छिन् ।

 

rsp-rupendhi-lekhjung-thapa-dr (6).jpeg
rsp-rupendhi-lekhjung-thapa-dr (7).jpeg
rsp-rupendhi-lekhjung-thapa-dr (8).jpeg
rsp-rupendhi-lekhjung-thapa-dr (9).jpeg
rsp-rupendhi-lekhjung-thapa-dr (1).jpeg
rsp-rupendhi-lekhjung-thapa-dr (2).jpeg
rsp-rupendhi-lekhjung-thapa-dr (3).jpeg
rsp-rupendhi-lekhjung-thapa-dr (4).jpeg
rsp-rupendhi-lekhjung-thapa-dr (5).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ