प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् विधेयकमाथि छलफल हुने
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
1.2k
Shares
काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने कार्यक्रम तय गरिएको छ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्।
यसैगरी, सभामुखले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
आजको कार्यतालिकामा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि सदनमा पुनर्विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने विषय पनि राखिएको छ।