arrow

आज चेपाङ समुदायले 'न्वांगी' पर्व मनाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २२ आइतबार
Chepang-village.jpg

मुग्लिन। चेपाङ समुदायले आफ्नो राष्ट्रिय तथा धार्मिक पर्व न्वांगी (छोनाम) आज देशभर मनाउँदैछन्। यस वर्ष चितवनको इच्छाकामना गाउँपालिका–६, कालिखोलामा देशभरका चेपाङ समुदाय एकै ठाउँमा भेला भएर यो पर्व मनाइरहेका छन्।

न्वांगी पर्व चेपाङ समुदायको नयाँ अन्न खाने दिन पनि हो। यो पर्वमा पितृलाई नयाँ फलफूल र अन्न अर्पण नगरी खान हुँदैन भन्ने धार्मिक मान्यता छ। पर्वको दिन घैया धानको चामल, काउनो, पिँडालु लगायतका नयाँ अन्न र फलफूल भूमि तथा पितृलाई चढाउने परम्परा छ।

यस पर्वमा चेपाङ झाँक्री (पान्दे) ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन्। यो दिन चेपाङ समुदायले कुनै काम नगरी नाचगान गर्ने, सामूहिक भोज खाने र सुखदुःख साट्ने गर्छन्। चेपाङ समुदायमा न्वांगी भदौ महिनाभरि मनाइने भए पनि, २०६३ सालदेखि नेपाल चेपाङ सङ्घको अगुवाइमा भदौ २२ गते लाई राष्ट्रिय पर्वका रूपमा सामूहिक रूपमा मनाउन थालिएको हो।

राष्ट्रिय जनगणना २०७८ अनुसार, नेपालमा ८४ हजार ३६४ चेपाङ छन्, जसमध्ये ३५ हजार ६३७ चितवनमा, २३ हजार ६५० मकवानपुरमा, १७ हजार १६० धादिङमा र ४ हजार २६८ गोरखामा बसोबास गर्छन्।

बागमती प्रदेश सरकारले २०७९ सालदेखि चितवन, मकवानपुर र धादिङ गरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा दिँदै आएको छ। यसैगरी, गोरखाको गण्डकी गाउँपालिकाले पनि यस दिन बिदा दिने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ