arrow

८० वर्षिया मकवानपुरकी 'ठुलीमाया'ले पाइन् नागरिकता

गाउँपालिकाका २ हजार ५ सय बढीको छैन नागरिकता      

logo
रबिन्द्र गौतम,
प्रकाशित २०७७ चैत २ सोमबार
Chepang-citizenship-hetauda.jpg

मकवानपुर। एक चेपाङ बृद्धाले ८० वर्षको उमेरमा नागरिकता पाएकी छन् ।जिल्लाको राक्सिराङ गाउँपालिका निवासी ठुलीमाया प्रजाले ८० बर्षपछि नागरिकता हातमा पर्दा निकै खुसीको अनुभूति गरिन्  बि.स १९९७  साल असार १० गते जन्मिएकी ठुलीमायालाई आइतबार जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रदान गरेको हो ।

राक्सिराङ गाउँपालिकाको सिफारिसमा उनले नागरिकता प्राप्त गरेकी हुन् ।८० बर्षपछि आफ्नो नागरिकता बन्दा ठुलीमायाले खुसी व्यक्त गरिन् । उनी १९९७ सालमा जन्मिएर पनि आजसम्म नागरिकता विहीन भएर बसेकी थिइन् । जिल्लाको बिकट मानिने राक्सिराङमा अधिकांश चेपाङ समुदायको बाहुल्यता छ । 

गरिबी र चेतनाको अभावका कारण राक्सिराङका अधिकांश चेपाङ नागरिकताबाट आजसम्म पनि वञ्चित छन् ।गाउँपालिकामा १८ वर्षा पुरा भएका २ हजार ५ सय बढी चेपाङहरू नागरिकता विहीन रहेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । 

उनका अनुसार गाउँपालिकाको खैरांग लगायतका गाउँका स्थानीय सदरमुकाम हेटौंडा आएर नागरिकता बनाउन तीन दिन लाग्ने भएकाले खर्चको अभावले पनि नागरिकता पाउन र सरकारको सेवा सुविधाबाट वञ्चित भएका हुन् ।बिहान बेलुका हातमुख जोड्न समस्या हुने राक्सिराङका चेपाङ समुदायले खर्चकै अभावका कारण सरकारी सेवा सुविधाबाट वञ्चित छन् भने ७० वर्ष कटेकाले पाउने सामाजिक सुरक्षा भत्ताबारे त चेपाङ समुदाय जानकार नै छैन ।

वर्षा याममा बाटोका कारण र हिउँदमा केही महिनालाई पुग्ने मनै,कोदो जस्ता अन्न सकिएपछि बिहान बेलुकी छाक टार्न भौँतारिनु पर्ने कारणले पनि चेपाङ समुदायलाई नागरिकता बनाउन भन्दा नबनाउने बेस लागेको बुझ्न सकिन्छ ।यो समुदायमा नागरिकता नबनेकै कारण ५ पुस्ता सम्मको जग्गा नामसारी नभएको अवस्था देखिएको गाउँपालिका अध्यक्ष मल्लले बताए ।

नागरिकताबाट वञ्चित समुदायलाई गाउँमै शिविर लगेर नागरिकता वितरण गर्नको लागि पहल गरिरहेको मल्लले बताएका छन् ।'हामीले अस्ति गाउँका करिब ७० जना चेपाङलाई जिल्ला प्रशासन कार्यालयमै लगेर नागरिकता प्रदान गर्‍यौँ, सिडिओसाबसँग हामीले पहल गरिरहेका छौं, शिविर सञ्चालन गरी गाउँमै पुगेर नागरिकता दिन पाए सहज हुने थियो', उनले भने ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाका बिकट गाउँहरूका नागरिकले अझै पनि नागरिकता पाउन सकेका छैनन् । गरिबी, अशिक्षाका साथै हेटौंडा सम्म आएर नागरिकता बनाउन खर्च लाग्ने भएकाले पनि राक्सिराङका स्थानीयले सरकारी सेवा सुविधा उपभोग गर्न पाएका छैनन् ।तीन तहको सरकार र गाउँ गाउँमा सिंहदरबार भनिरहँदा मकवानपुरको राक्सिराङमा गाउँपालिकामा भने २ हजार ५ सय बढीले अझै नागरिकताबाट वञ्चित भएर बसिरहनु परेको अवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ