आगजनीले ध्वस्त कांग्रेस कार्यालयमा आशाको झण्डा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २८ शनिबार
785
Shares
काठमाडौं। जेन-जी पुस्ताको आन्दोलनका क्रममा भएको आगजनीबाट सानेपामा रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ। भ्रष्टाचारविरुद्धको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले भवनमा आगो लगाउँदा कार्यालय खण्डहरमा परिणत भएको हो।
भवनभित्र रहेका सम्पूर्ण कागजातहरू जलेर नष्ट भएका छन्। करोडौँ रुपैयाँ बराबरको भौतिक क्षति भएको सो कार्यालयको भवन अहिले भग्नावशेषमा परिणत भएको छ।
जलेको पार्टी कार्यालय देखेर कार्यकर्ताहरू निराश भएका छन्। कांग्रेस कार्यकर्ताहरूले जलेको भवनमा पार्टीको आशाको झण्डा र बीपी कोइरालाको तस्बिर अंकित झण्डा राखेका छन्।
त्यसैगरी, च्यासलमा रहेको नेकपा एमालेको पार्टी कार्यालय र पेरिसडाँडामा रहेको नेकपा (माओवादी केन्द्र) को कार्यालयमा पनि प्रदर्शनकारीले आगो लगाएर ध्वस्त बनाएका छन्। बानेश्वरमा रहेको एकीकृत समाजवादीको कार्यालयमा भने तोडफोड मात्र भएको छ।
प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट राजनीतिक दलका महत्त्वपूर्ण दस्तावेजहरू नष्ट हुनुका साथै करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको छ।