arrow

परिकल्पना पुस्तान्तरणको

कांग्रेस अग्रज नेताहरूलाई पद त्याग्न कार्यकर्ताको अनुरोधसहित खुला पत्र

कांग्रेसको नियमावलीको दफा ५० मा "जेष्ठ नागरिक सभा"को परिकल्पना गरिएको भन्दै पार्टीलाई सल्लाह, सुझाव र प्रेरणा दिनका लागि पार्टीमा योगदान गरेका ६५ वर्ष उमेर पुगेका ब्यक्तिहरूलाई यस सभामा राख्न सकिने उल्लेख 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
basistha-adhikari-82-562.jpg

काठमाडौँ । नेपाली कांग्रेसभित्र रुपान्तरणको चर्चा तीव्र रुपले भइरहेको छ । जेन–जी आन्दोलनपछि हरेक पार्टीमा तरङ्ग आइरहँदा कांग्रेसभित्र अझ बढी चर्चा चुलिएको छ । 

सोही क्रममा नेपाली कांग्रेस ललितपुर जिल्ला सचिव वशिष्ठ अधिकारीले पनि खुलापत्र लेखेर पाका उमेरका नेताहरुलाई विश्राम लिन आग्रह गर्दै पद त्याग गर्न अनुरोधसहित पत्र लेखेका हुन् । 

उनले कांग्रेसको नियमावलीको दफा ५० मा "जेष्ठ नागरिक सभा"को परिकल्पना गरिएको भन्दै पार्टीलाई सल्लाह, सुझाव र प्रेरणा दिनका लागि पार्टीमा योगदान गरेका ६५ वर्ष उमेर पुगेका ब्यक्तिहरूलाई यस सभामा राख्न सकिने उल्लेख गरेका छन् ।  

यस्तो छ अधिकारीको खुलापत्र

आफ्नै अग्रज नेतालाई कार्यकर्ताको खुला पत्र 

२०८२/०६/०२

नेपाली कांग्रेसका आदरणीय "पाका" नेताहरू,
हार्दिक नमस्कार ! जय नेपाल !

बिषय : पद त्याग गर्नुहुन सविनय अनुरोधसहित !

नेपाली कांग्रेसको नियमावलीको दफा ५० मा "जेष्ठ नागरिक सभा"को परिकल्पना गरिएको छ । पार्टीलाई सल्लाह, सुझाव र प्रेरणा दिनका लागि पार्टीमा योगदान गरेका ६५ वर्ष उमेर पुगेका ब्यक्तिहरूलाई यस सभामा राख्न सकिन्छ भन्ने व्यवस्था हाम्रो नियमावलीमा विद्यमान छ । तसर्थ नेपाली कांग्रेसलाई समय सापेक्ष निकास दिने हो भने ६५ वर्ष उमेर हद पार गरेका हाल जिम्मेवारीमा रहेका अग्रजहरूले स्वेच्छिक रूपमा आ-आफ्नो पदबाट सामुहिक राजीनामा गरी मार्गप्रशस्त गर्दै युवालाई अगाडि सारेर नेतृत्व सुम्पदै तपाईंहरू सबै यसै सभामा बसेर पार्टीलाई आवश्यक सहयोग गर्नुहुन विनम्रताका साथ आग्रह गर्दछु । यो समयको माग हो जुन जरुरी छ ।

प्रश्न उठ्न सक्ला, किन त ? किनभने...

प्रथमतः तपाईंहरूले प्रत्यक्ष रूपमा विभिन्न जिम्मेवारीमा रहेर यो मुलुक र पार्टीका लागि पुर्याउनु भएको योगदानका लागि हार्दिक धन्यवाद छ । एकपटक सोच्नुहोस् त ! कर्मचारीलाई ६० वर्ष, न्यायाधीशलाई ६५ वर्ष उमेर हद किन लाग्छ ? नेताहरूलाई किन लाग्दैन ? लगाउनुपर्छ ! अब हाम्रो बिधान र संविधानमा नै प्रमुख पदमा रहने व्यक्तिलाई "६५ वर्षको उमेर हद र एक पद बढीमा दुई पटकको अवसर" लगाउन सकियो भने त्यहीँबाट बिकृतिको अन्त्यको सुरुवात हुन थाल्नेछ । सम्झनुहोस् त ! २०४८ सालमा नै मन्त्री बन्नु भएका तपाईं "हजुरबुबा" "बा" हरूलाई आफैले निरन्तर दर्जनौंपटक पद लिइराख्नु हुदैन भन्ने चेतना किन कहिल्यै आउँदैन ? के शक्तिको आडमा ठाँउ ओगटिरहने तपाईंहरू नै समय सापेक्ष, निर्बिकल्प र प्रीय हो त ? हजुरहरू कहिल्यै ऐना हेर्नुहुन्न ? वास्तवमा चाकरीबाजले आफ्नो स्वार्थका लागि लगाएको तेलले तपाईंहरूको विवेकलाई छोपेको छ भन्ने लाग्छ । खोलामा बगेको पानी कन्चन हुन्छ, जमिरहेको पोखरीमा लेउ लाग्छ । कसले बुझाइदिने ? तनावग्रस्त बुढ्यौलीको जीवन भन्दा आरामको रिटायर्ड लाइफ बिताउनु राम्रो होईन र ? तसर्थ पदको नशा त्यागिदिनुहोस् ! तपाईंहरू भन्दा क्षमताबान्, अध्ययनशील, समयको गतिलाई बुझ्न सक्ने, नयाँ पुस्तालाई समेत नेतृत्व गर्न सक्ने, जोस र जाँगर भएका, समाजले पत्याएका युवापुस्ता कांग्रेसमा तयार भैसकेका छन् । नरोक्दिनुहोला !

आदरणीय अग्रजहरू !
देशमा जेन्जी आन्दोलन र अहिलेको परिणाम ल्याउनुको दोषी हामी "नेपाली कांग्रेस" पनि हो । २०७२ को संविधान जारी गर्दा सम्म कांग्रेस ठिक थियो । २०७४ मा एमाले माओवादी नामका सबै कम्युनिस्ट मिलेर चुनाव लडे ।  जिते ! देशमा दुईतिहाईको कम्युनिस्ट सरकार र प्रधानमन्त्री ओली बने । हामी छटपटायौँ । तर २०७७ साल आइपुग्दा नपुग्दै चुनावबाट बिजयी दुईतिहाईको कम्युनिस्ट सरकारलाई प्राप्त जनमत दुध उम्लिएझैँ उम्लियो, ३ वर्षमै पोखियो । सरकार चलाउन नसकेर संसद विघटनको स्थिति आयो । जुन हाम्रा लागि अवसर थियो । 

बिडम्बना लोकतान्त्रिक पार्टी कांग्रेसले सिधै जनतामा जान छोडेर कहिले प्रचण्ड बोक्ने, कहिले माधव नेपाल र मधेसी दल च्याप्ने, गठबन्धनको नाममा कम्युनिस्टहरूलाई मत हाल्न मात्र होईन माग्न लगाउने, फेरि त्यही फेलियर ओलीलाई बोक्ने र रातारात उसैलाई नेतृत्व सुम्पने, सुशासन भन्दा सत्तालाई प्राथमिकता दिने, अल्पमत र युवाको कुरा सुन्दै नसुन्ने उल्टै बहुमतको नाममा सकेको पेल्ने, समानुपातिकको दुरुपयोग गर्ने, क्षमताले भन्दा पैसा, आफन्त र नाताले प्रसय पाउने आदि आदि कमजोरीहरू प्रशस्तै गर्न थाल्यो । 

जनता आजित भए र त त्यसैको फाइदा उठाउँदै नेपालको राजनीतिमा कुनै परिचय नभएका र योगदान नगरेका घण्टी र लौरो जस्ताले; त्यो बिरासत बोकेको, हरेक पटक आन्दोलन र परिवर्तनको नेतृत्व गरेको इतिहासकै गर्विलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसलाई चुनौती दिन आइपुगे । गठबन्धनको जित भनेको चोरेको धन, बैसाकीको यात्रा र मुतको न्यानो हो भनेर हामीले धेरै पटक भन्यौँ । सुन्ने कसले ? यसरी आफ्नो निष्ठा, आदर्श र सिद्धान्त भुलेको दिनवाट नै नेपाली कांग्रेसको अधोगतिको शृङ्खला शुरू भएको हो । (यो कुरा मैले पटकपटक बोलेको र लेखेको पनि थिएँ) 

आदरणीय अग्रजहरू, आज सर्वमान्य नेता गणेशमान सिंहको २८ औँ स्मृति दिवस ! पुनः आग्रह गर्दछु, वहाँलाई सम्झेर पनि त्याग संस्कृति सिक्नुहोस् । थोरै नैतिकतालाई जिवित राख्नुहोस् । विगतमा फर्किनुहोस् ! वर्तमानलाई सोच्नुहोस् ! भविष्य जोगाउनु पर्छ भन्ने लाग्छ भने आजैबाट त्याग गर्नुहोस् । तपाईंहरू निर्बिकल्प होइन, विकल्पहरू प्रशस्तै छन् । पार्टी नेतृत्वले समयको गति नबुझ्दा यो स्थिति आयो । सच्चिनु पर्दैन ? अझै रुमलिने हो भने संघर्षको मैदानमा हामी निर्लज्ज पराजित हुनेछौँ । बीपी, गणेशमानहरूले स्थापित गरेको पार्टीलाई रसातलमा जानबाट बचाउनुहोस् । नत्र फेरि थप दोष लाग्छ । पछुताउनु पर्नेछ । नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुहोस् । परिवर्तन जरुर हुन्छ, हामीलाई पूर्ण विश्वास छ ।

अन्त्यमा, बिन्ती गर्छु ! सोच बदल्नुहोस् । रुपान्तरणलाई सहजीकरण गर्नुहोस् । तपाईंहरूको मुल्यांकन इतिहासले गर्नेछ । परिवर्तन संभव छ, हाम्रै पालामा । हामी बदलिँदो परिवेशमा बदलिएको कांग्रेस बनाएर बनेको देश हेर्न चाहन्छौं । भ्रष्टाचारको समूल अन्त्य र सुशासन सहितको आमूल परिवर्तनको पक्षमा काम गर्न चाहन्छौँ । जेन-जीको आवाजलाई परिणाममुखी बनाउन चाहन्छौँ  । संविधानको रक्षा गर्दै समयानुकूल संशोधन गरेर आफ्नै सुकर्मले समुन्नत नेपालका सम्मानित नेपाली भएर बाँच्न चाहन्छौँ । सबै अग्रज तथा साथीहरूले बुझिदिनुहोला । साथ दिनुहोला । गतल बोलेको लेखेको भए कारबाही गर्नुहोला । जय नेपाल !

वशिष्ठ अधिकारी
जिल्ला सचिव 
नेपाली कांग्रेस, ललितपुर । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ