arrow

दशैँ नजिकिँदै गर्दा सिँगार्न थालियो शक्तिपीठहरू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
maitidevi-mandir.jpg

काठमाडौं। नवरात्र सुरु हुन लागेसँगै काठमाडौं उपत्यकाका शक्तिपीठहरूलाई झिलिमिली बत्तीले सिँगार्न थालिएको छ। नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, चामुण्डामाईलगायतका मन्दिरहरूमा एक साताअघिदेखि नै तयारी सुरु भएको छ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्मका नौ रातलाई 'नवरात्र' भनिन्छ, जुन बेला यी शक्तिपीठहरूमा भक्तजनको ठूलो घुइँचो लाग्ने गर्दछ। मैतीदेवी मन्दिर क्षेत्रमा नवरात्रका लागि सबै तयारी पूरा भइसकेको मन्दिर प्रबन्ध समितिका अध्यक्ष तथा काठमाडौं महानगरपालिका-३० का वडाध्यक्ष दलबहादुर कार्कीले जानकारी दिएका छन्।

धार्मिक विश्वासअनुसार, नवरात्रको समयमा शक्तिपीठमा गएर पूजा-आराधना र दर्शन गरेमा मनोकामना पूरा हुन्छ। यस पर्वमा घरघरमा घटस्थापना गरी जमरा राखिन्छ र नवदुर्गाको पूजा-आराधना गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोअनुसार, यस वर्षको नवरात्र असोज ६ गते सोमबारदेखि सुरु भई असोज १५ गते बुधबारसम्म रहनेछ। नवरात्रभरि पूजा गरिएको देवीको प्रसाद विजयादशमी (असोज १६) देखि पूर्णिमासम्म ग्रहण गर्ने चलन छ। विजयादशमीको दिनदेखि मान्यजनको हातबाट टीका, प्रसाद र आशीर्वाद लिने परम्परा पनि सुरु हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ