arrow

यस वर्षको दशैँमा खाद्य कम्पनीले खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
khasi-boka.jpg

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ। भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन र त्यसपछिका सडक अवरोधका कारण आपूर्ति व्यवस्थामा अन्योल सिर्जना भएपछि कम्पनीले यस्तो निर्णय गरेको हो।

कम्पनीका सूचना अधिकारी माधव मिश्रले आन्दोलन र सडक अवरुद्ध हुँदा खसी, बोका र च्याङ्ग्रालाई गाडीमा लामो समय राख्दा मर्ने सम्भावना हुने र त्यसले ठूलो नोक्सानी हुने बताए। उनले ३६ घण्टासम्म सडक बन्द हुँदा जनावरहरूलाई गन्तव्यसम्म पुर्याउन असहज भएको र त्यसले राम्रो सन्देश नजाने भन्दै यो वर्ष बिक्री नगर्ने निर्णय गरेको बताए। यसबाट उपभोक्तामा केही असर परे पनि निजी क्षेत्रले सहयोग गर्ने विश्वास उनले व्यक्त गरे।

कम्पनीको खरिद विभागका विभागीय प्रमुख अनन्तराज पौडेलले यस वर्ष खसी, बोका र च्याङ्ग्राको बिक्रीका लागि सबै तयारी पूरा भइसकेको र अनलाइन प्रणालीबाट समेत बुकिङ लिने योजना रहेको बताए। अनलाइन पोर्टलमा उपभोक्ताले आफूले चाहेको तौल र किसिमको खसी, बोका वा च्याङ्ग्रा छानेर डेलिभरीको मिति तय गर्न सक्ने व्यवस्था मिलाइएको थियो। केही बुकिङहरू पनि आइसकेको अवस्थामा जेन-जी आन्दोलनका कारण सबै कार्यक्रम स्थगित गर्नुपरेको उनले जानकारी दिए।

खाद्य कम्पनीले यसअघि करिब १,५०० खसी, बोका र ३०० च्याङ्ग्रा सुपथ मूल्यमा बिक्री गर्ने तयारी गरेको थियो। यद्यपि, कम्पनीले दशैँका लागि आवश्यक खाद्यान्न र अन्य सामग्रीहरू भने सुपथ मूल्य पसलमार्फत बिक्री वितरण गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ