दुर्गा पक्ष शुरु: आज घरघरमा घटस्थापना गरिँदै, यस्तो छ उत्तम साइत
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
993
Shares
काठमाडौँ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने हिन्दुहरूको महान् पर्व बडादशैँ आजदेखि प्रारम्भ भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिँदै छ।
पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठामा जौ रोपेर जमरा राखिन्छ। जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, जमरामा जौबाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि छैन।
घटस्थापनाको साइत र नवरात्र
आज घटस्थापनाको साइत बिहान ९:१३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिले सूर्योदयकालमा प्रतिपदा भएकाले आजको दिन घटस्थापनाका लागि उपयुक्त रहेको बताएको छ।
नवरात्रभर दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ। दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ। नवरात्रको नौ दिनमा दुर्गाका नौ फरक रूप नवदुर्गाको पूजा गर्ने गरिन्छ।
विजयादशमीको साइत र हनुमानढोकाको पूजा
यस वर्षको नवरात्र असोज ६ देखि १५ गतेसम्म रहनेछ। विजयादशमीको साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको समितिले जनाएको छ। विजयादशमीका दिन देवीको विसर्जन गरी मान्यजनबाट टीका, जमरा र फूलप्रसाद ग्रहण गर्ने गरिन्छ।
परम्पराअनुसार, काठमाडौँको हनुमानढोका दरबारस्थित दशैँ घरमा आजैदेखि जमरा राखी दुर्गा देवीको पूजा आराधना शुरु हुन्छ। यहाँ महानवमीका दिन ५४ बोका र ५४ राँगाको बलि दिइन्छ। दशैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा पनि लिइन्छ, जसका लागि रोजगार वा अध्ययनका सिलसिलामा घरबाहिर रहेका मानिसहरू फर्कने गर्छन्।