जनकपुरधाममा दशैँको रौनक, शक्तिपीठहरूमा गरियो घटस्थापना
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
706
Shares
जनकपुरधाम। हिन्दु धर्मावलम्बीहरूको महान् चाड दशैँ आजबाट सुरु भएको छ। दशैँको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिर लगायत गाउँगाउँका शक्तिपीठहरूमा विधिपूर्वक घटस्थापना गरिएको छ।
जनकपुरधामका प्रमुख शक्तिपीठहरू राजदेवी मन्दिर, बौधीमाई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर र रामानन्द चोकका दुर्गा मन्दिरहरू दशैँका लागि सिँगारिएका छन्। घटस्थापनाको दिन बिहानैदेखि यी मन्दिरहरूमा भक्तजनको चहलपहल बढेको छ।
राजदेवी मन्दिरमा नवरात्रको पूजाका लागि सबै तयारी पूरा भएको छ। प्रत्येक वर्ष दशैँमा हजारौँको सङ्ख्यामा भक्तजनको भीड लाग्ने राजदेवी मन्दिरमा सप्तमी र अष्टमीका दिन विशेष गरी प्रसाद चढाउनेहरूको घुइँचो लाग्ने गर्दछ।
यस वर्ष राम युवा कमिटीले बौधीमाता, अमरखाना र अन्नपूर्णा माता मन्दिरको पूजा व्यवस्थापनको जिम्मेवारी लिएको छ। यी सबै मन्दिरमा घटस्थापनादेखि विजयादशमीसम्मको सम्पूर्ण तयारी पूरा भइसकेको छ।
राजदेवी माताको नवरात्र पूजा तान्त्रिक विधिअनुसार हुने गरेको छ। यसअन्तर्गत गणेश कलश, भैरव कलश र दुर्गा कलश स्थापना गरी घटस्थापना गरिन्छ।