arrow

विशेष महाधिवेशन गर्न धनकुटा कांग्रेसको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
congress-dhankuta-82-6-10.jpg

धनकुटा । नेपाली कांग्रेस धनकुटाको बैठकले अहिलेको परिस्थितिमा मुलुकको समस्या समाधान गर्न, पार्टी संगठनलाई क्रियाशील र सशक्त बनाउन विशेष महाधिवेशन गर्न आवाश्यक भएकोले केन्द्रीय समितिलाई विशेष महाधिवेशन गर्नका लागि माग गर्दै सुझाव  पठाएको धनकुटा कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको अध्यक्षतामा बसेको बैठकमा जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा समयको माग युवाहरुको चाहना र भावनाअनुसार नेपाली कांग्रेसलाई पुस्तान्तरण र रुपान्तरण गर्न आवश्यक भएकोले अहिलेको प्रतिकूल अवस्थामा विशेष महाधिवेशन गरी पार्टीलाई नविनतम ढंगले अगाडि बढाउन आवश्यक भएको पार्टीका पदाधिकारी तथा जिल्ला सदस्यहरू, महासमिति सदस्य तथा महाविधेशन प्रतिनिधि र पार्टीका साथीहरूले सुझाव दिएकाले सोही अनुसार नेपाली कांग्रेस केन्द्रीय समितिमा पठाइएको धनकुटा कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले अहिले पार्टीलाई र देशलाई ठूलो संकट भएकोले अहिलेको नेतृत्वबाट पाटीलाई अगाडि बढाउन समस्या हुने भएकोले विशेष महाधिवेशन गरेर पार्टीलाई नयाँ जोशका साथ अगाडि बढाउने पर्ने धारणा राखे । उनले नेतृत्व परिवर्तन अहिलेको आवश्यक भएको बताए ।

धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले 'जो बदलिन्छन् तिनले नेतृत्व दिन्छन् जो बदलिदैनन् उनलाई बिदा दिन्छन्, सिद्धिन्छ्न र पतन पनि हुन्छन्' भने । उनले पार्टी, सरकार लगायत राज्यको हरेक तह तथा निकाय, समाजमा पुस्तान्तरण र रुपान्तरण गरी नयाँ नेतृत्व आउनु पर्ने आवश्यक भएको वताए ।

नेपाली कांग्रेस पार्टीको आगामी रणनीतिको बारेमा सुझाव दिने सम्बन्धमा छलफल गर्दा अहिलेको विषम परिस्थितिमा पार्टी संगठनलाई अगाडि बढाउन कठिन हुने भएकोले नविनतम ढंगबाट पार्टी संगठन विस्तार तथा सुदृढीकरण गर्नका लागि विशेष महाधिवेशन अबिलम्ब बोलाउन केन्द्रीय समितिलाई सुझावसहित अनुरोध गर्ने निर्णय  गरेको हो ।

नेपाली कांग्रेस धनकुटाको बैठकले जेन-जी आन्दोलनको क्रममा जीवन उत्सर्ग गर्नु हुने योद्धाहरुलाई राष्ट्रिय शहीद घोषणा गरी सम्मान गर्न र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न, शहीद परिवार र घाइतेहरुलाई जीवन निर्वाहका लागि तत्काल राहत उपलब्ध गराउन, दीर्घकालीन रूपमा रोजगारको व्यवस्था गर्न सरकार समक्ष माग गर्ने निर्णय  गरेको छ ।

यसैगरी जीवन उत्सर्ग गर्ने श्रद्धाहरुप्रति सम्मानसहित श्रद्धाञ्जली अर्पण गर्ने, शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्ने र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णयसमेत धनकुटा कांग्रेसले गरेको छ ।

जेन-जी आन्दोलनका मागहरु जायज भएता पनि आन्दोलनको क्रममा घुसपैठ भई सामरिक महत्वको सिंहदरबार, सर्वोच्च अदालतलगायत दर्जनौँ सरकारी तथा निजी भवनहरू, व्यापारिक प्रतिष्ठानहरूमा आगजनी तथा तोडफोड गरी खर्बौँ रुपैयाँको धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै घुसपैठ भई ध्वस्त गरिएको भौतिक संरचनाहरुको घटनाप्रति घोर भत्सर्ना गर्ने जिल्ला समितिको बैठकले  निर्णय  गरेको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

जेन-जी आन्दोलनको क्रममा घुसपैठ भई नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य आरजू राणा देउवा र अन्य नेताहरूमाथि भएको आक्रमण तथा दुर्व्यवहार भएको घटनाप्रति निन्दा र भत्सर्ना गर्दै सभापति देउवा र घाइते नेताहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय  पनि बैठकले गरेको छ ।

जेन-जी आन्दोलनको क्रममा क्षति भएको केन्द्रीय समितिबाट माग भए बमोजिम धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकामा  आन्दोलनको क्रममा त्यहाँको आन्दोलनकारीहरूले नेपाली कांग्रेसको नगर कार्यसमितिको बोर्ड लगेर फिर्ता गरेको र नेकपा एमालेको नगर कमिटीको कार्यालयमा सामान्य क्षति पुर्याएको घटनाको केन्द्रीय कार्यालयमा जानकारीका लागि पठाउने निर्णय समेत गरेको छ ।

जेन-जी आन्दोलनको क्रममा गत असोज २३ गते तत्कालीन सरकारद्वारा अत्यधिक बल प्रयोग  गरी ठूलो धनजनको क्षति भएको घटनाको र असोज २४ गते देशको राजधानी काठमाडौँलगायत विभिन्न जिल्लाहरुमा भएको भौतिक संरचनामाथि भएको आगजनी तोडफोड लगायतका क्षति लुटपाटको घटनाको निष्पक्ष शक्तिशाली छानबिन आयोग गठन गरी दोषीलाई कडा कारबाहीहीको माग गर्ने निर्णय नेपाली कांग्रेस धनकुटा जिल्ला कार्य समितिको बैठकले गरेको छ ।

उक्त बैठकले अहिलेको विषम उपस्थितिमा पार्टीका साथीहरूलगायत सबैमा धैर्य संयम र पूर्ण एकता कायम गरी विचलित तथा हतोत्साहित  नभई  उच्च मनोवल कायम गरी नेपालको पुनर्निमाणमा जुट्न सवैलाई अपिल गर्ने निर्णय  गरेको छ ।

जेन-जी आन्दोलनको क्रममा जीवन उत्सर्ग गर्नु हुने योद्धाहरु प्रति सम्मान सहित श्रद्धाञ्जली अर्पण गर्न, शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्न र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्न धनकुटाको चुवाको वोट स्थित ग्रीन पार्कमा दीपप्रज्वलन गर्ने  र धनकुटा जिल्लाको अन्य पालिकाहरुमा पनि दीपप्रज्वलन कार्यक्रम गर्ने निर्णय  गरेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव जयन्द्र घिसिगले जानकारी दिए ।

नेपाली कांग्रेस धनकुटा जिल्ला कार्य समितिको बैठकमा सभापति दिनेश राई, उपसभापतिद्वय निर्मलप्रसाद ओझा, सुनिल कुमार डंगोल, सचिवद्वय विजय सन्तोषी राई, जयन्द्र घिसिङ, सहसचिवद्वय रोशन श्रेष्ठ, गिरिजा प्रसाद दाहाल, कोषाध्यक्ष सरस्वती मगर तामाङ, पाख्रिवास नगपालिकाका मेयर ज्ञानबहादुर गुरुङ, महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राया, साँगुरीगढी गाउँपालिका अध्यक्ष तथा क्षेत्रीय सभापति जितेन्द्र राई, छथरजोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बा, महासमिति सदस्यहरु लिला सुब्बा, नविन किशोर शाक्य, सुमना तिम्सिना, सिता प्रधान, नेपाल तरुण दलका केन्द्रिय सदस्य तिलकबहादुर महत, पाख्रिवासका सभापति प्रेम भण्डारी, साँगुरीगढी गाउँपालिका सभापति नेपालधन राई लगायत पार्टीका नेताहरु, भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष तथा सभापतिहरु, पालिका सभापतlहरु, वडाध्यक्षहरु, पालिका सभापतlहरु पार्टी संगठनको लगायत अहिलेका विद्यमान परिस्थितिको विषयमा आ-आफ्नो धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ