arrow

दशैँमा मासु सेवन गर्दा स्वस्थ्य रहन चिकित्सकको सुझाव

पोलेको र तारेको मासु नखान सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १४ मंगलबार
Meat-butchering.jpeg

काठमाडौँ। आज दशैंको महाअष्टमीमा बलि दिएर मासु खाने परम्परा रहेकाले चिकित्सकहरूले स्वस्थ मासुलाई स्वस्थ्य तरिकाले पकाएर खान जोडदार सुझाव दिएका छन्। चिकित्सकहरूका अनुसार, मासु आफैंमा खराब नभए पनि पकाउने तरिकाका कारण अस्वस्थ बन्ने गरेको छ।

चिकित्सकहरूले मासु पकाउँदा पोलेर (ग्रिल गरेर) र तारेर प्रयोग नगर्न विशेष सुझाव दिएका छन्। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. गुरुशरण साहले रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको जोखिम बढ्ने बताएका छन्। सोही अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विनय ठाकुरले बोसो भएको मासुलाई आगोमा पकाएर खाँदा उत्पन्न हुने प्रतिक्रियाले आन्द्राको क्यान्सर हुने जोखिम बढी हुने स्पष्ट पारेका छन्। उनले धुवाँसँग मासुलाई मिसाएर प्रशोधन गरिँदा रासायनिक प्रक्रिया भई क्यान्सर उत्पन्न गराउने खतरा हुने बताएका छन्।

पुष्पाञ्जली अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीले दशैंको समयमा खानपिनमा सामान्य ध्यान नदिँदा उच्च रक्तचाप, मुटु, मधुमेह, युरिक एसिड बढ्ने तथा पेटजन्य समस्या (झाडाबान्ता, कब्जियत, ग्यास्ट्रिक) का बिरामीको सङ्ख्या उल्लेख्य वृद्धि हुने बताए। उनले एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा रोगलाई बढावा मिल्ने भन्दै बोसो नभएको ताजा मासु थोरै थोरै गरेर खान सुझाव दिए। चाडपर्वमा नुन, चिल्लो, चिसो, गुलियो बढी खाने र त्यसमा मदिरा तथा चुरोट मिसाउँदा झनै स्वास्थ्य समस्या हुने उनको भनाइ छ।

चितवन मेडिकल कलेजका डा. सौरभ खतिवडाले बोसो बढी भएको मासु खाँदा मोटोपना बढ्ने र मासुसँगै अन्य धेरै खाद्य परिकार खाइने हुँदा शरीरमा चिनीको मात्रा बढाउने जोखिम हुने बताए। उनले पोलेको, भुटेको र अधिक बोसो भएको मासु स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै बोसोरहित मासु कम मात्रामा खानुपर्ने सुझाव दिए।

मुटुरोग विशेषज्ञ प्रा. डा. श्यामराज रेग्मीले मुटु रोगसँगै सुगर (मधुमेह), प्रेसर (हाइपरटेन्सन) वा चिल्लो (कोलेस्ट्रोल) को मात्रा बढी भएको समस्या छ भने खानपानमा अत्यन्तै सावधानी अपनाउनुपर्ने सुझाव दिए। उनले सामान्यतया चिल्लो, छाला र बोसो नभएको मासु थोरै खान हुने बताए।

साकाहारीहरूले पनि लामो समयदेखि बनाएर राखिएको मिठाइ र धेरै पनिर जस्ता वस्तु खाँदा कोलेस्ट्रोल बढ्ने भएकाले ठिक्क मात्रामा खान डा. अधिकारीले सुझाएका छन्।

मासु र मदिरा धेरै सेवन गर्ने व्यक्तिमा आन्द्राको क्यान्सरको जोखिम बढी हुने चिकित्सकहरूले चेतावनी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ