काठमाडौँ। नेपालीहरूको महान् पर्व विजया दशमीमा दशैँको टीका लगाउनका लागि काठमाडौँ उपत्यकाबाट गाउँ फर्किने क्रम आज महाअष्टमी पर्वका अवसरमा पनि जारी रहेको छ।
काठमाडौँ उपत्यकालाई कार्यथलो र अध्ययनस्थल बनाएर बसेका आम नागरिकहरू अहिले गाउँ फर्किनका लागि सडकमा सवारीसाधन कुरेर बसेको देख्न सकिन्छ। विशेषगरी काठमाडौँको कोटेश्वर, जडिबुटी लगायतका सडकहरूमा यात्रुहरूको बाक्लो उपस्थिति रहेको छ।
यस वर्ष विजया दशमीको शुभ साइतको टीका असोज १६ गते (बुधबार) परेकाले पनि गाउँ फर्किनेहरूको चाप बढेको हो। महानवमी अर्थात् भोलि (मङ्गलबार) सम्म पनि काठमाडौंबाट आफन्तजन र ठूलाबडाको हातबाट दशैँको टीका लगाउन र आशीर्वाद थाप्न जानेहरूको सङ्ख्या उल्लेख्य रहने बताइएको छ।