नेपालको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको प्रक्षेपण
राजनीतिक अस्थिरता र भ्रष्टाचारले नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा खुम्चने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
874
Shares
काठमाडौँ। विश्व बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्र हुने निराशाजनक प्रक्षेपण गरेको छ। बैंकले आज (मंगलबार) 'साउथ एशिया डेभलपमेन्ट रिपोर्ट' सार्वजनिक गर्दै हालैका आन्दोलन र त्यसको असरलाई ध्यानमा राखेर यो अनुमान सार्वजनिक गरेको हो।
विश्व बैंकले यसअघि चालू आर्थिक वर्षमा ५.२ प्रतिशत र त्यसपछिको वर्षमा ५.५ प्रतिशत आर्थिक वृद्धिदर हुने आकलन गरेको थियो। तर पछिल्लो परिस्थितिलाई नियाल्दै प्रक्षेपण घटाइएको छ:
नयाँ प्रक्षेपण: बैंकले आर्थिक वर्ष २०८२/८३ मा २.१ प्रतिशत र त्यसपछिको वर्ष २०८३/८४ मा ४.७ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ।
शासकीय असन्तुष्टि: पछिल्ला आन्दोलनहरूलाई विश्व बैंकले शासन प्रणालीप्रतिको असन्तुष्टि र मुलुकभित्र अवसरको अभावका रूपमा अथ्र्याएको छ।
अन्य चुनौती: मुलुकमा बढेको भ्रष्टाचार र व्यवसायिक वातावरण बन्न नसक्दा छिमेकी मुलुकहरूमा जस्तो नेपालमा विकास हुन नसकेको विश्व बैंकको ठहर छ।
प्रतिवेदनले नेपाललगायत दक्षिण एशियाका लागि केही प्रमुख जोखिमहरू पनि औंल्याएको छ, जसमा विश्वव्यापी आर्थिक सुस्ती, व्यापार नीतिबारे अनिश्चितता, सामाजिक अशान्ति, र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधिले श्रम बजारमा ल्याउने चुनौती रहेका छन्।
विश्व बैंकका दक्षिण एशियाका उपाध्यक्ष जोहानेस जुट्टले भनेका छन्, "दक्षिण एशियामा ठूलो सम्भावना छ, तर देशहरूले जोखिमहरूलाई समयमै सम्बोधन गर्नुपर्छ। एआईको फाइदा लिन र व्यापारका अवरोध घटाउन सके देशहरूले उत्पादकत्व बढाउन, निजी लगानी ल्याउन र नयाँ रोजगारी सिर्जना गर्न सक्छन्।"
विश्व बैंकका अनुसार, सेवा क्षेत्रमा तुलनात्मक रूपमा कम शुल्क भएका कारण विगत दशकमा दक्षिण एशियामा रोजगारीको तीन चौथाइ वृद्धि भएको छ। यस्तै, चरणबद्ध रूपमा शुल्क घटाएर व्यापार सम्झौता विस्तार गर्नसके, निजी लगानी र रोजगारी दुवै बढ्नसक्ने प्रतिवेदनमा उल्लेख छ।
दक्षिण एशियाको समग्र आर्थिक वृद्धि यसवर्ष ६.६ प्रतिशत हुनेछ, तर सन् २०२६ मा यो वृद्धि घटेर ५.८ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ।