देश र जनतालाई केन्द्रमा राखेर काम गर्न राससलाई सञ्चारमन्त्री खरेलको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
1.1k
Shares
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय समाचार समिति (रासस) ले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
राससको भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन तथा निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले राससमा कार्यरत पत्रकार र कर्मचारी जुनसुकै विचार र आस्थामा आबद्ध भए पनि संस्थाको बृहत्तर हितका पक्षमा एक हुनुपर्ने बताए ।
“राससमा कार्यरत साथीहरु साँच्चिकै पत्रकार बनेर आफ्नो व्यक्तित्व निर्माणमा लागेमा त्यसले देश र जनतालाई फाइदा पुग्नेछ”, उनले भने, “अहिलेको सरकारको कार्यादेश बुझ्नुभएकै छ । सोहीअनुसार व्यवसायिक, निष्पक्ष र सन्तुलित भइ काम गर्नुस् ।”
रासस विनियमावली संशोधन छिट्टै
रासस एक इतिहास बोकेको गौरव गर्न लायक संस्था भएको स्मरण गर्दै मन्त्री खरेलले राससको विनियमावली संशोधनलाई विभागीय मन्त्रीका हैसियतले छिट्टै टुङ्गोमा पुर्याउन आफू तत्पर रहेको बताए । उनले राससको भौतिक सम्पत्तिको उपयोग, अडियो–भिडियो सेवाको दिगोपना आदिका विषयमा क्रमशः छलफल गरिने विश्वास दिलाए ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस विनियमावली लामो समयदेखि मन्त्रालयमा विचाराधीन हुँदा कर्मचारीको वृत्तिविकाससँग सम्बन्धित काम प्रभावित भएको बताउँदै यथाशक्य छिटो विनियमावली स्वीकृतिका लागि आग्रह गरे ।
राससका महाप्रबन्धक सन्दीप राईले राससलाई समयसापेक्ष ‘डिजिटलाइज्ड’ गरी देशको एजेण्डा बोक्ने समाचार संस्थाका रुपमा स्थापित गर्न व्यवस्थापन पक्ष अघि बढिरहेको बताए । केन्द्रीय कार्यालयबाट मात्र समाचार सेवा प्रवाह भइरहेको अवस्थामा प्रदेशगत रुपमा पनि ‘बुलेटिन’ प्रकाशन गर्नुपर्ने देखिएकाले त्यसमा सरकारका तर्फबाट सहयोगको अपेक्षा गरे ।
उनले रासस विनियमावली संशोधन प्रक्रियालाई अन्तिम रुप दिन र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न मन्त्रालयको नेतृत्वदायी भूमिका हुने भएकाले सहजीकरण गरिदिन मन्त्रालयसँग अनुरोध गरे ।
कार्यक्रममा सञ्चार मन्त्रालयकी सचिव राधिका अर्याल, सहसचिव कोषहरि निरौलालगायत उपस्थित थिए ।