टिकटक भिडियो बनाउन खोलामा हामफाल्दा बेपत्ता भएका युवक मृत फेला
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
677
Shares
सर्लाही । टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेका बारा प्रसौनी-२ का २१ वर्षीय बिक्की गोसाईंको शव फेला परेको छ ।
असोज १९ गतेदेखि बेपत्ता भएका उनको शव शुक्रबार बिहान फेटा गाउँपालिका-१ त्रिवेणी खोलामा फेला परेको हो ।
प्रहरीका अनुसार गोसाईं टिकटक भिडियो बनाउन भन्दै साथीसहित दूधौरा खोलामा हामफालेका थिए । तर, उनका साथी पौडेर किनारमा निस्किए पनि गोसाईं भने खोलाको बेगमा बगेर बेपत्ता भएका थिए ।
शुक्रबार बिहान खोलाको बगरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले शवको पहिचान गर्ने क्रममा बिक्की गोसाईंकै रहेको खुल्न आएको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिए । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।