वीरगञ्ज (पर्सा)। सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले वीरगञ्जमा छापा मारेर भन्सार छली गरी गोदाममा राखिएको ठूलो परिमाणको सुन र चाँदी बरामद गरेको छ।
वीरगञ्ज महानगर–८, माईस्थानस्थित अभिषेक सर्राफको घरमा अवैध सुनचाँदी लुकाइएको गोप्य सूचनाका आधारमा सोमबार छापा मारिएको थियो। सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार, बरामद भएको सुनचाँदी सुनचाँदी व्यवसायी सङ्घमा मापन गर्दा २ हजार २५४.८६ ग्राम (करिब २.२५ किलो) सुन र १० हजार ३५४.०७ ग्राम (करिब १०.३५ किलो) चाँदी फेला परेको छ।
प्रहरीले सुन र चाँदीजस्तै देखिने थप ११ सय ग्रामभन्दा बढी धातु र नेपाली रु. १ लाख ९ हजार तथा भारु ४१ हजार ६० नगद पनि नियन्त्रणमा लिएको छ। बरामद गरिएका सम्पूर्ण सामग्री राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ।
पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षणपछि थप छानबिन र राजस्व चुहावटको मुद्दा चलाउने प्रक्रिया अघि बढाइने बताएका छन्।