arrow

कांग्रेस महाधिवेशका लागि संकलित हस्ताक्षर आज बुझाइँदै, भोलिदेखि केन्द्रीय समितिमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
deuba-congress-meeting-82-6-28.jpg

काठमाडौँ । नेपाली कांग्रेसभित्र तत्काल महाधिवेशन गर्न माग गर्दै संकलित हस्ताक्षर आज पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुझ्ने भएका छन् । 

नियमित महाधिवेशन वा विशेष महाधिवेशन गरी नयाँ नेतृत्व लिएर चुनावी मैदानमा जानुपर्ने भन्दै महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरी महाधिवेशन गर्न माग गरेका हुन् । 

हिजो पार्टी सभापति शेरबहादुर देउवाले कार्यकारीबाट मुक्त भएको घोषणा गर्दै सभापतिका रूपमा पार्टी केन्द्रीय कार्यसमिति बैठकमा अन्तिम सम्बोधन गरेसँगै सोही दिन कुनै पनि अन्य कार्यक्रम नराख्ने भन्दै हस्ताक्षर बुझ्ने काम आजलाई राखिएको हो । 

आज दिउँसो ३ बजे कार्यवाहक सभापति खड्काले हस्ताक्षर बुझ्ने महामन्त्री गगनकुमार थापाले बताएका छन् । 

उनले सभापति देउवाले पार्टीको १५औँ महाधिवेशन समयभित्रै सम्पन्न गर्ने बताएकोसमेत जानकारी दिएका छन् । 

थापाले भने, ‘हामीले बुझेको समयभित्र भनेको २०८२ को मंसिर मसान्त हो । महाधिवेशन त्यही समयभित्र सम्पन्न हुन्छ ।’

पार्टीको विधानअनुसार चार चार वर्षमा नियमित चुनावी महाधिवेशन गर्नुपर्ने हुन्छ । १४ औँ महाधिवेशन २०७८ सालको मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौँमा भएको थियो । 

सोही हिसाबले पनि मंसिर अन्तिमसम्ममा १५ औँ महाधिवेशन हुनुपर्नेछ । 

पार्टीलाई जेन–जी आन्दोलनपछि नयाँ नेतृत्वसहित चुनावमा होमिनु पर्ने भएकाले नियमित महाधिवेशन वा विशेष महाधिवेशन गर्न माग गर्दै ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले आज हस्ताक्षर बुझाउन खोजेका हुन् । 

यसअघि हिजो कार्यवाहक सभापतिले हस्ताक्षर बुझ्न मानेका थिएनन् । सभापति देउवाले कार्यकारी छाड्दै अन्तिम सम्बोधन गरेकाले पनि सो दिन अन्य कार्यक्रम नगर्ने भनेर हस्ताक्षर नबुझिएको बताइएको छ । 

सोही कारण पार्टीको केन्द्रीय कार्यसमितिको बैठकसमेत मंगलबारलाई स्थगित गरी अब बिहीबार दिउँसो १ बजेदेखि नियमित हुनेछ । 

बिहीबारको बैठकबाटै एजेन्डाका विषयमा छलफल हुनेछ । आज महाधिवेशनका लागि प्रतिनिधिहरूको हस्तााक्षर बुझेसँगै पार्टीको सबैभन्दा ठूलो एजेन्डा नै अबको महाधिवेशन हुनेछ । 

नेपाली कांग्रेसमा रहेका जम्मा ४७४३ महाधिवेशन प्रतिनिधिमा हाल  ४५५६ बहाल छन् । बाँकी मृत्यु भएका र पार्टी छाडेको संख्या १८७ रहेको छ । 

विशेष महाधिवेशनको लागि हस्ताक्षर गर्नेको संख्या २४८७ अर्थात् ५४.५८ प्रतिशत रहेको छ । 

यता विशेष महाधिवेशनको पक्षमा बहुमत जुटेको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि बहुमत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरेपछि आन्तरिक राजनीति नयाँ दिशातर्फ मोडिएको हो ।

पार्टी विधानअनुसार केन्द्रीय समितिले निर्णय गरे वा महाधिवेशन प्रतिनिधिहरूमध्ये ४० प्रतिशतले लिखित माग गरे विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । 

यही प्रावधानलाई आधार मानेर महामन्त्रीद्वयले मंसिरभित्रमा नियमित महाधिवेशन वा विशेष  महाधिवेशन गर्नुपर्ने दुवै विकल्पलाई समानान्तर रुपमा अगाडि बढाएका थिए ।

गगन–विश्वको सक्रियतामा नेता डा शेखर कोइराला नदेखिएपछि शेखर पक्ष थप कमजोर बन्दै ओझेलमा परेको छ । देउवा पक्ष भने आन्तरिक रूपमा रक्षात्मक अवस्थामा पुगेको छ । 

तर देउवाले मंगलबार कार्यकारी छाड्दै १५ औँ महाधिवेशन मंसिरमै गर्न सहमति जनाएसँगै अब भने १५ औँ नियमित महाधिवेशन मंसिरमै हुने संकेत देखिएको छ । 


देउवा पक्षले अहिले विशेष महाधिवेशन वा नियमित महाधिवेशनको चर्चा उठाएको छैन । उसले केही समय यही कार्यसमितिलाई नै अगाडि बढाउन चाहिरहेको छ । 

महामन्त्रीद्वयले पार्टीको नीतिगत दिशा, आन्तरिक लोकतन्त्र, संगठन सुदृढीकरण र नेतृत्व पुस्तान्तरणका एजेन्डालाई विशेष महाधिवेशनको केन्द्रीय विषय बनाउन खोजेका छन् ।

देउवा पक्षका नेताहरू भने पार्टी अहिले स्थायित्व र एकताको चरणमा भएकाले तत्काल विशेष महाधिवेशन गर्ने अवस्था नभएको तर्क गर्दैछन् । उनका निकट नेताहरूका अनुसार पार्टीलाई विभाजनतर्फ लैजाने जोखिमपूर्ण कदम चाल्नेभन्दा पनि नियमित प्रक्रियाबाट मात्र अगाडि बढ्नुपर्ने उनको धारणा छ ।

महामन्त्रीद्वयले केन्द्रीय समिति बैठकमार्फत नै मंसिरभित्रै नियमित महाधिवेशनको प्रस्ताव अघि बढाउने तयारी गरिरहेका छन् । त्यसमा सहमति नजुटे प्रतिनिधिहरूबाट सङ्कलन गरिएको हस्ताक्षरमार्फत विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढाउने उनीहरूको तयारी छ ।

जेन–जी आन्दोलनपछि नेपालको राजनीतिक सोच बदलिएको छ । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै गर्दा त्यसका लागि पनि कांग्रेस नयाँ म्यान्डेटअनुसार जानुपर्नेमा जोड दिइएको छ ।

समय छोटो भए पनि नेपालीहरूको दोस्रो ठूलो चाड तिहार र छठपछि कांग्रेस डेढ महिना स्थानीय तहदेखि केन्द्रसम्ममा एकैपटक सक्रिय भएर खटिने हो भने मंसिर अन्तिम साता सजिलै नियमित महाधिवेशन हुन सक्छ । 

र, गर्नु पनि पर्छ । किनकि समयअनुसार चल्न सकिएन भने त्यो पार्टी व्यर्थ भएर मासिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ