कांग्रेस केन्द्रीय समिति बैठकमा सात सदस्यले राखे धारणा, जेन-जी आक्रमणको निन्दा र महाधिवेशनबारे प्रश्न
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
1k
Shares
काठमाडौँ। नेपाली कांग्रेसको बिहीबार दिउँसो बसेको केन्द्रीय समितिको बैठकमा सात जना सदस्यहरूले आफ्ना धारणा राखेका छन्। बैठकले जेन-जी आन्दोलनका क्रममा पार्टी सभापति शेरबहादुर देउवामाथि भएको साङ्घातिक हमलाप्रति निन्दा गरेको छ।
बैठकमा बोल्ने सदस्यहरूले पार्टीको महाधिवेशनबारे स्पष्ट हुनुपर्ने धारणा राखेको प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन्। यद्यपि, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीले नियमित महाधिवेशन नै अघि बढाउने र विशेष महाधिवेशनको एजेण्डा केन्द्रीय समितिमा नरहेको जानकारी दिएका छन्। उनले आम निर्वाचन र पार्टीको अधिवेशनबारे प्रश्न उठेको जिकिर गरे पनि कार्यतालिका प्रस्ताव भने अहिलेसम्म नगरिएको जानकारी दिए।
बैठकमा अधिकांश सदस्यहरूले वर्तमान सरकार निर्वाचनलाई सहज बनाउने बाटोतिर नलागेर प्रतिशोध साँध्ने बाटोमा गएको धारणा राखेका थिए। आम नागरिकले पूर्ण रूपमा सुरक्षा महसुस गर्न नसकेको र सुरक्षा निकायको मनोबल उठ्न नसकेको भन्दै निर्वाचनमा कुनै पनि भयबिना भाग लिने वातावरण बनाउनुपर्ने माग सदस्यहरूले राखेका छन्।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको घटनाको जरैदेखि छानबिन हुनुपर्ने र जेन-जीको पहिरनमा गरिएका कामहरू र व्यक्तिहरू पत्ता लगाउनुपर्ने धारणा राखे। उनले नियमित अधिवेशन मङ्सिरभित्रै गर्नुपर्नेमा जोड दिँदै अन्यथा विशेष महाधिवेशन गर्नुपर्ने बताए। उनले संसद पुनःस्थापनातिर लाग्न नहुने भन्दै हजार र पाँच सयको नोट प्रतिबन्ध गर्नसमेत माग गरे।
केन्द्रीय सदस्य रामहरि खतिवडाले भने कानून हातमा लिएर सरकार चलाउने काममा केही व्यक्तिहरू लागेको र सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाए। उनले सरकार संविधानविपरीत बनेको भन्दै जेन-जीका मागहरू सम्बोधन गरेर अघि बढ्न आवश्यक रहेको बताए।
केन्द्रीय सदस्य इन्द्रबहादुर बानियाँले संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक रहे पनि कांग्रेस निर्वाचनबाट नभाग्ने दाबी गरे। उनले पार्टी एकताबद्ध भएर कार्यतालिका बनाई अघि बढ्ने बताए।