कांग्रेसका विशेष महाधिवेशन पक्षधरद्वारा अविलम्ब महाधिवेशनको माग, मंसिरभित्र नेतृत्व बदल्नुपर्ने जोड
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २ आइतबार
977
Shares
काठमाडौँ। नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरूले पार्टीको महाधिवेशन अविलम्ब हुनुपर्ने माग गर्दै आइतबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गरेका छन्।
महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले केन्द्रीय समितिको बैठक अस्वभाविक रूपमा लम्बिएको आरोप लगाए। उनले केन्द्रीय समितिको बैठक अनिश्चित देखिनुले पदाधिकारीसहित केन्द्रीय समितिको मनसाय महाधिवेशन नगर्ने र आफ्नो म्याद थप्नेतर्फ उद्यत रहेको देखिएको बताए। उनले केन्द्रीय समितिको यो प्रवृत्ति आपत्तिजनक रहेको भन्दै महाधिवेशन प्रतिनिधिहरूको अवमूल्यन गरी महाधिवेशन टार्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारे।
आचार्यले वर्तमान केन्द्रीय समितिको असफलता नेपाली राजनीतिमा भएका घटनाहरूले पुष्टि गरेको दाबी गर्दै केन्द्रीय कार्यसमितिले आफ्नो म्याद थपेर पार्टीको नेतृत्व गर्ने धरातल गुमाइसकेको टिप्पणी गरे। आगामी निर्वाचनमा जानुपर्ने आवश्यकता महसुस गरी विशेष महाधिवेशन माग गरिएको स्पष्ट पार्दै उहाँले आगामी मंसिरभित्र विधिवत् महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन आजको आवश्यकता भएकोमा जोड दिए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले भदौ २३ र २४ गते भएका तोडफोड र आगजनीका उग्र क्रियाकलापका पक्षधर आफूहरू नभएको स्पष्ट पारेका छन्। उनले ती क्रियाकलापहरू निन्दनीय रहेको बताउँदै भने, "भदौ २३ र २४ का घटनाहरूले हामीलाई सधैँ बिझाइरहनेछ। त्यो घटनाले विश्व राजनीतिमा मानक खडा गरेको छ।"
घिमिरेले मंसिर मसान्तभित्र महाधिवेशन गर्नैपर्ने र नेतृत्व बदल्नैपर्ने आवश्यकता औँल्याए। २०४६ साल यता नेतृत्व गर्दा र जनताले दिएको जिम्मेवारीलाई दृष्टिगत गर्दा आफूहरूबाट पनि कमजोरी भएको कुरा महसुस गर्न जरुरी रहेको उनको भनाइ छ।
गत असोज २९ गते नेपाली कांग्रेसका २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहितको निवेदन केन्द्रीय कार्यालयमा पुगेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए। बदलिँदो राजनीतिक परिवेशलाई आत्मसाथ गर्दै महाधिवेशन प्रतिनिधिहरूले पार्टीको विधानको धारा १७(२) बमोजिम महाधवेशनको माग गरेको बताएका छन्।