पर्सामा हैजाविरुद्धको खोप अभियान: ८४ प्रतिशत लक्षित समूहलाई खोप खुवाइयो
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
894
Shares
वीरगञ्ज (पर्सा)। पर्सा जिल्लामा सञ्चालित हैजा महामारीविरुद्ध प्रतिकार्य खोप अभियान अन्तर्गत आइतबारसम्म ८४ प्रतिशत लक्षित समूहलाई हैजाविरुद्धको औषधी (खोप) खुवाइएको छ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, असोज २६ देखि कार्तिक २ गतेसम्म सञ्चालित यो अभियानमा छ लाख ५२ हजार १२९ जना लक्षित समूहलाई खोप खुवाउने लक्ष्य राखिएकोमा पाँच लाख ४७ हजार ३११ जना अर्थात ८४ प्रतिशतलाई मुखबाट खुवाइने यो खोप खुवाइएको छ।
ठाकुरले अझै १६ प्रतिशत लक्षित समूह खोप खानबाट छुटेको र उनीहरूलाई छठ पर्व लगत्तै फेरि खुवाइने बताएका छन्। अहिलेसम्मको तथ्याङ्कले यो अभियान प्रभावकारी ढङ्गले सञ्चालन भइरहेको देखाएको छ।
जगरनाथपुर गाउँपालिकामा सबैभन्दा बढी ९४ प्रतिशत र छिपरमाई गाउँपालिकामा ९३ प्रतिशत लक्षित समूहले खोप लिएका छन्। वीरगञ्ज महानगरमा ८२ प्रतिशत, ठोरी गाउँपालिकामा ८६ प्रतिशत, जिराभवानी गाउँपालिकामा ७८ प्रतिशत, पर्टेवासुगौली गाउँपालिकामा ८५ प्रतिशत, सखुवा प्रसौनीमा ८९ प्रतिशत, पर्सागढी नगरपालिकामा ८४ प्रतिशत, बहुदरमाई नगरपालिकामा ८० प्रतिशत, पोखरिया नगरपालिकामा ८३ प्रतिशत, कालिकामाई गाउँपालिकामा ८१ प्रतिशत, धोविनी गाउँपालिकामा ८५ प्रतिशत, पकहाँमैनपुर गाउँपालिकामा ८० प्रतिशत र विन्दवासिनी गाउँपालिकामा ९१ प्रतिशतले खोप लिएका छन्।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले खोप केन्द्रहरूको नियमित अनुगमन र निरीक्षण भइरहेको बताउँदै धान भित्र्याउने समय र चाडपर्वका कारण खोप अभियानको समय थपेर भए पनि अघि बढाउन निर्देशन दिएका छन्।
जनस्वास्थ्य अधिकृत ठाकुरले एक वर्ष उमेर माथिका सबैलाई खोप सुरक्षित र भरपर्दो भएकाले ढुक्क भएर सेवन गर्न अनुरोध गरेका छन्। यो खोप एक वर्षभन्दा माथिको उमेरका सबैले, गर्भवती र स्तनपान गराइरहने महिलाले पनि लिन सकिने जनाइएको छ।